माघ ७ गतेदेखि लमहीमा तेस्रो कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सव हुने
घरसञ्चार
देउखुरी । स्वरोजगार, आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्द्धनलाई मुख्य उद्देश्यका साथ लमहीमा कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुने भएको छ ।
लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिन पार्कमा माघ ७ गतेदेखि १६ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । सोमबार लमहीमा आयोजित पत्रकार सम्मेलनमार्फत चेम्बर अफ कमर्स लमहीका अध्यक्ष किरण कुमार बुढाथोकीले महोत्सवको औपचारिक जानकारी दिएका हुन । उनका अनुसार कृषि, पर्यटन, उद्योग तथा व्यापारिक क्षेत्रको विकास र विस्तारलाई टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

चेम्बर अफ कमर्स लमहीले दिएको जानकारी अनुसार महोत्सवमा कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, स्थानीय उत्पादन, पर्यटनसम्बन्धी सामग्री तथा सेवाको प्रदर्शन गरिनेछ । साथै विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी, कला-साहित्य प्रदर्शनी, लोकसंस्कृतिमा आधारित नृत्य तथा संगीत प्रस्तुतिका साथै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछ । महोत्सव अवधिभर करिब २०० वटा स्टल रहने र तीमध्ये ५० वटा स्टल कृषि क्षेत्रसँग सम्बन्धित रहनेछन् । यसले किसान, उद्यमी र व्यवसायीलाई आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री वितरण गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ । स्थानीय किसान र उद्यमीका लागि महोत्सव महत्वपूर्ण प्लेटफर्म बन्ने विश्वास गरिएको छ । अध्यक्ष बुढाथोकीका अनुसार महोत्सवमा प्रवेश शुल्क सामान्य दर्शकका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि कार्ड आधारमा ८० रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सव अवधिभर फरक–फरक समयमा मौलिक सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारको प्रस्तुति तथा उत्कृष्ट स्टल र प्रदर्शनकर्तालाई पुरस्कार प्रदान गरिने पनि उनले जानकारी दिए । आयोजकले महोत्सव स्थलमा निःशुल्क पार्किङ, स्वच्छ खानेपानी, प्राथमिक स्वास्थ्य सेवा तथा सुरक्षाको उचित व्यवस्था मिलाइने जनाएको छ । स्थानीय सुरक्षा समिति तथा सरोकारवाला निकायसँगको समन्वयमा महोत्सवलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सञ्चालन गरिने चेम्बर अफ कमर्स लमहीका वरिष्ठ सल्लाहकार किसन भट्टराईले बताए । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, युवामा स्वरोजगार सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। देउखुरी क्षेत्रको पहिचान र सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको महोत्सवले कृषि, पर्यटन र व्यापारलाई एकै थलोमा जोड्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।





