लमही नगरपालिकाको १८ औँ नगरसभा, महत्वपुर्ण दुई बिधेयक पारित

टेकबहादुर पुन

देउखुरी । लमही नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न नगरसभाले चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै सार्वजनिक गरेको छ ।

नगरसभापछि नगरप्रवक्ता मोहन गिरीले पत्रकार सम्मेलनमार्फत नगरसभाबाट भएका निर्णयहरू सार्वजनिक गरेका हुन । नगरसभामा उपप्रमुख लक्ष्मी योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । उनले चालू आर्थिकबर्षको हालसम्म १६ प्रतिसतको बित्तिय प्रगति प्रतिबेदन प्रस्तुत गरिन । कुल जम्मा ८६ करोड, ५३ लाख, १७ हजार, ९ सय २९ मध्यबाट हालसम्म १४ करोड, ३ लाख, २२ हजार, ४ सय १५ रुपैया खर्च बिबरण प्रस्तुत गरिन ।

नगरसभाले विकास निर्माण, सेवा प्रवाह, आर्थिक अनुशासन र सुशासनलाई थप प्रभावकारी बनाउने निर्णयहरू गरेको जनाइएको छ । नगरप्रवक्ता गिरीका अनुसार १८ औँ नगरसभाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएका केही वार्षिक योजना तथा कार्यक्रमहरू प्रगति प्रतिवेदनसहित संशोधन गरेको छ । आर्थिक प्रतिवेदनअनुसार २०८२ पुस २२ गतेसम्म नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ९ लाख ६५ हजार ८ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम अनुमानित आन्तरिक आयको १५ दशमलव ५० प्रतिशत रहेको छ ।

यस्तै, चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये हालसम्म कुल खर्च १६ प्रतिशत पुगेको जानकारी दिइएको छ । नगरसभाले लमही नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएका विधेयकहरू समेत पारित गरेको छ । पारित भएका विधेयकहरूमा भूमि व्यवस्थापन सम्बन्धी विधेयक, २०८२ तथा लमही नगरपालिका पुराना भवनहरूको अभिलेख व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५ (पाँचौँ संशोधन) २०८२ रहेका छन् । यी विधेयकहरू कार्यान्वयनमा आएपछि नगरभित्रको भूमि व्यवस्थापन र पुराना भवनहरूको अभिलेख व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
नगरसभाको अर्को महत्वपूर्ण निर्णयअनुसार लमही नगर कार्यपालिकाको निर्णय बमोजिम संलग्न सूची अनुसारका कर्मचारी तथा व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नगरपालिकाको सेवा प्रवाह, प्रशासनिक सुधार तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका १६ जना कर्मचारी र पत्रकार शिबु खनाललाई सम्मान गरिएको हो ।

नगरपालिकाले कर्मचारी र सञ्चारकर्मीको भूमिकालाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । नगरसभा सम्बोधन गर्दै नगरप्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले योजनाबद्ध विकास, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले जनताको आवश्यकता अनुसार विकासका कार्यक्रम अघि बढाइने र नगरपालिकाको आन्तरिक आय वृद्धि गर्न थप पहल गरिने उल्लेख गरे । नगरप्रमुख चौधरीले नगरसभा लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण माध्यम भएको भन्दै नगरवासीको सुझाव र अपेक्षालाई नीति तथा कार्यक्रममा समेटिने स्पष्ट पारे । उपप्रमुख लक्ष्मी योगीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा नगरपालिकाको आम्दानी, खर्च, बजेट कार्यान्वयन अवस्था र आगामी चुनौतीबारे उल्लेख गरिएको थियो । उनले सीमित स्रोतसाधनका बाबजुद पनि विकास निर्माण र सामाजिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट खर्च गरिएको बताईन । साथै, आगामी दिनमा राजस्व संकलनको दायरा फराकिलो बनाउने र खर्चलाई अझ प्रभावकारी बनाउने योजनाबारे समेत चर्चा गरिन ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाको प्रशासनिक सुधार, कर्मचारी व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउनेतर्फ ध्यान दिइएको बताए । उनले नगरसभाबाट पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी संयन्त्रलाई जिम्मेवार बनाइने उल्लेख गरे । नगरसभा पश्चात् आयोजित पत्रकार सम्मेलनमा नगरप्रवक्ता मोहन गिरीले १८ औँ नगरसभाबाट पारित निर्णयहरू सार्वजनिक गर्दै ती निर्णयहरू नगरवासीको हितमा केन्द्रित रहेको बताए । उनले नगरपालिकाले आगामी दिनमा पनि सञ्चारमाध्यमसँग सहकार्य गर्दै सूचनाको प्रवाहलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
समग्रमा, लमही नगरपालिकाको १८ औँ नगरसभाले आर्थिक, कानुनी तथा प्रशासनिक पक्षमा महत्वपूर्ण निर्णयहरू गर्दै नगरको विकास र सुशासनतर्फ नयाँ दिशा दिएको सरोकारवालाहरूले बताएका छन् । कार्यक्रमको सहजिकरण प्रशासन प्रमुख (प्रशासकिय अधिकृत) महेश थापा ठेँडीले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *