लमहीमा सरायँ नाच, बसाईसराईले छेक्दैन आफ्नो मौलिक्ता

घरसञ्चार
देउखुरी, २१ असोज । देउखुरीको लमहीमा धुमधामका साथ मँगलबार सरायँ नाच अर्थात खड्क जात्रा निकालिएको छ ।
दशैँको टीकापछि पूर्णिमा सम्म पहाडका टाकुरामा शक्तिपीठका रूपमा रहेका कोटमा सरायँ हुने प्रचलन रहेको छ । पन्चेबाजा बजाएर हतियार सहित गरिने नृत्य, गीत र खेलको संयुक्तरूप हो सरायँ । सरायँ, बसाइसराइका कारण तराई लगायतका क्षेत्रमा पनि विस्तार भएको पाईन्छ । खासगरी सरायँ पहाडी जिल्लाहरुमा विशेष मानिन्छ । तर, बिस्तारै बसाईसराई हुँदै गर्दा तराईमा पनि सरायँको मौलिकता दिखएको छ ।
यस नाचले मनोरञ्जन मात्र हैन सामाजिक एकता र मेलमिलाप बढाउन योगदान पुराएको छ । यो नाचले ऐतिहासिक मूल्यलाई बोकेको छ । शक्तिको उपासना, हतियार तथा औजारहरूको प्रदर्शनले विगत राज्यहरू बीचको लडाइ, विजयोत्सव, युद्धको तयारीको प्रतिबिम्बन सरायँमा हुने गरेको पाइन्छ । यस नाचले सामाजिक एकता र सहकार्यको सन्देश दिएको छ । यसले परम्परागत मूल्यमान्यता र पुर्खाको गौरवलाई उजागर गरेको छ । समय क्रममा सरायँ नाच विस्तार भएको भए पनि मौलिकता गुमाउँदै गएको, नयाँ पुस्तामा कम हस्तान्तरण भएकोले लोपोन्मुख हुने संभावना भने जिवित छ ।

पछिल्लो समय मौलिक कला संस्कृति हराउँदै जान थालेपछि यसको संरक्षण र संवद्र्धनमा युवाहरुले चासो बढाएको देखिन्छ । दाङको लमही, भालुवाङ् र सिसहनियामा हरेक बर्ष दसैंको पूर्णिमाको दिन सराय नाच तथा खड्ग जात्रा निकाल्ने चलन छ । यसबर्ष पनि सराय नाच निकालिएको छ । कालिका भगवती मन्दिर लमहीले यस बर्ष सराय नाचको आयोजना गरेको हो । यो सँगै नवौँ पटक सराय निकालिएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष हिमन्तप्रसाद पाण्डेले बताए । ‘पहाडी जिल्लामा बाउ, बाजेहरुले यस्तो नाच निकालेका देखेका थियौं । हामी बसराई सरेर यहाँ आएपछि हाम्रो पुर्खाले सुरु गरेको संस्कृति संरक्षणमा युवाहरु संगठीत भएर लागेका हौं, पाण्डेले भने,–। ‘यस बर्ष सराय नाच हेर्न आउनेहरु धेरै हुनुहुन्छ ।’
दसैंको विदाई गर्न र देवि भगवतीलाई खुसी पार्न सराय तथा खड्ग जात्रा निकाल्ने परम्परा छ । पहाडी जिल्लाहरुमा यसको विशेष महत्व छ । तर, बसाई सराईले गर्दा धेरै मानिस तराई झरेपछि आफ्नो पुरानो परम्परा जगाउन उनिहरुले आफ्नै ठाउँमा मन्दिर स्थापना गरेर सराय नाच निकाल्ने गरेका हुन् । सराय नाँच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाँच हो । तरबार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सराय नाँच देउखुरी लगायत आसपासका क्षेत्रहरुमा मान्ने प्रचल छ ।

प्रायः सराय नाच दशैंको टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म नाच्ने चलन छ । सराय नाच संस्कृति बचाउन र नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले लमही नगरपालिकाको बजार क्षेत्रमा नाच प्रर्दशन गरिएको छ । मन्दिरमा चढाइएको खुँडा र दशैंको बेलामा राखिएको जमराको माला र धोती पासासहितको एउटै पहिरनमा सराय नाच प्रर्दशन गरिएको थियो । सराय नाच प्रर्दशनमा युवाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
परापूर्वकालदेखि नाच्न थालिएको सराय मेलाले घरबाट टाढा गएकाहरु दशैंंका बेलामा घरमा आएका साथीहरू–आफन्तसँग भेट्ने अवसर पनि हो । लमहीमा खेलिने सराय नाच केही ठाउँमा नयाँ पुस्ताले अनुसरण नगर्दा लोप हुने अवस्थामा पुग्ने थालेको छ । गाउँमा नाच्नेभन्दा हेर्ने धेरै देखिने गरेका छन् । युवाहरुको राम्रै उपस्थिति र सहभागिता भए पनि नाच्न अगाडि सर्दैनन् । जसले गर्दा सराय नाच लोप हुने अवस्था आउने सक्ने भन्दै युवाहरुको सक्रियता बढाइएको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी मोतिराम खनालले बताए । उनले पुराना पुस्ता सकिंदै जाँदा पुराना कला संस्कृति पनि मेटिदै जाने भएकाले यसको संरक्षणमा सबै लाग्नु पर्ने बताए ।

संरक्षणका लागि गर्नु पर्ने पहलहरू
सराय हाम्रो मौलिक अमूर्त सांस्कृतिक सम्पदा हो । सराय नाच आधुनिकीकरणका क्रममा लोप हुने अवस्थामा पुगेको छ । यसले आफ्नो मौलिकपन गुमाउदै जानथालेको देखिएको छ । यसो हुनुमा सांस्कृतिक सचेतनाको अभाव तथा नयाँ पुस्तामा हस्तान्तरण र व्यवस्थित हुन नसक्नु नै मुख्य कारण रहेको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले बताए । उनका अनुसार यसमा मौलिकताको क्षयीकरण रोक्न जरुरी छ ।