के गर्दैछन् जलेका कार्यालयका कर्मचारी ?

खेमराज रिजाल
दाङ, २७ भदौ । जेनजीहरूको आन्दोलनका क्रममा दाङका दर्जनौँ सरकारी कार्यालय क्षणभरमै ध्वस्त भए । आन्दोलन उग्र बन्दै गएपछि स्थानीय पालिकाका प्रशासनिक कार्यालय ध्वस्त भए । जिल्ला समन्वय समिति दनदनी बल्यो । सडक पूर्वाधार, मालपोत, नापी, अदालत, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलगायतका कार्यालय क्षणभरमै खरानी भए । त्यो सनसनीपूर्ण आगजनीमा कर्मचारी कार्यालयमा बस्न सक्ने अवस्था भएन । त्यो दिन कार्यालय प्रमुख कसैलाई आफ्नो कार्यालयमा केकति क्षति भयो भन्ने जानकारीसमेत हुन पाएन ।

त्यसै राति १० बजेदेखि सुरक्षाको जिम्मा नेपाली सेनाले लियो । जिल्लाका घोराही, तुलसीपुर, लमही र भालुबाङ क्षेत्रमा कफ्यु आदेश जारी भयो । यद्यपि कार्यालयहरू भने सञ्चालनमै देखिन्थे । तोडफोडले क्षतविक्षत र जलेर खरानी भएका कार्यालयका कर्मचारीहरू के गर्दै छन्, अहिले ? यसै सन्दर्भमा केही स्थानीय पालिकाका कर्मचारीको दैनिक ियहाँ प्रस्तुत गरिएको छ । ‘मङगलवारको आन्दोलनको रापसँगै दिनभरजसो अश्रुग्यासले अनुहार पोलिरहेको थियो । त्यसैबिच करिब साझ साढे तीन बजेदेखि कार्यालयभित्रै आन्दोलनकारी छिरेर धमाधम आगजनी र तोडफोड गर्न थालेपछि हामी जसोतसो भाग्न सक्यौँ । हिजो र आज कार्यालयमा आएर क्षतिको विवरण तयार गर्दै छौँ’, जिल्ला समन्वय समितिको कार्यालयका स्टोर प्रमुख बिमला खनालले भनिन् ।

सभाहलका केही कुर्सी बाहेक अन्य बस्नलायक कुर्सी बच्न नसकेकाले क्षतिको विवरण अझै तयार भई नसकेको उनले बताइन् । बिमलासँगै अन्य कर्मचारी पनि निराश अनुहारमा कार्यालयमा उपस्थित छन् । कार्यालय सहयोगी जयप्रसाद चौधरी भन्छन्, ‘हेर्दाहेर्दै जिसस प्राङ्गणभित्र रहेका चारवटै भवन जलेर खरानी भए । फर्निचर केही बाँकी रहेन, समितिको कार्यालय, समन्वय समितिका जनप्रतिनिधिको कार्यालय, सडक पूर्वाधार कार्यालय र भूमि व्यवस्था आयोगको कार्यालय सबै जलेर खरानीमा परिणत भए ।’ बल्लतल्ल झ्याल फोरेर आफू बाहिर निस्केर बच्न सफल भएको जयप्रसादले बताए । सबैभन्दा बढी कागजात जिल्ला समन्वय समितिमा थिए, प्रदर्शनकारीले हरेक कोठामा छिरेर कागजात कोठामै जलाइदिए । बुधवार बिहानसम्म कार्यालयको स्टोर शाखा जलिरहेको थियो ।

तुलसीपुर उपमहानगरपालिका पनि आन्दोलनमा दनदनी बल्यो ।उपमहानगरपालिकाको कार्यालय प्राङ्गण र अन्डरग्राउन्ड पार्किङ स्थलमा भएका दर्जन बढी गाडी जलेका छन् । कर्मचारी आउँछन्, केही बेर टोलाउँछन् अनि आन्दोलनकारीलाई धिक्कार्छन् । ‘हामीले अहिले हरेक शाखा प्रमुखहरूमार्फत् विभागमा भएको क्षतिको विवरण सङ्कलन गर्दै छौँ, अझै क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन’, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर केसीले भने । भदौरे झरीमा बरन्डामा बसेर कर्मचारीले क्षतिको विवरण टिपोट गरिरहेका छन् । सरकारले लगाएको कफ्र्युसँगै आन्दोलनकारीको त्रासादीका कारण जनप्रतिनिधि कार्यालय छिरेका छैनन् । कर्मचारीलाई कसले निर्देशन दिने भन्ने अन्योल छ । के काम गर्ने भन्ने पनि अन्योल छ । मानौ सिङ्गै नगरपालिका जलेको खरानीका छाप लिएर कर्मचारी कार्यालय परिसरमा छटपटाइरहेका देखिन्छन् । कसैको मुद्रा चमक छैन । निराशा र त्रासको वातावरण छ ।

‘हामीले सम्भवतः भोलिसम्म सम्पूर्ण क्षतिको विवरण तयार पारिसक्ने छौँ । नियमित सेवा प्रवाह त अझै अनिश्चित र अन्योल नै छ’, सूचना अधिकारी केसी भन्छन् । उनका अनुसार प्रदर्शनकारीले तुलसीपुर उपमहानगरपालिकाको प्राङ्गगणमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, नगर प्रहरीलगायत सेवा लिन आएका सेवाग्राहीका निजी सवारीसाधन गरी कम्तिमा आठ वटा गाडी जलाइएका छन् । यसैगरी सात वटा मोटरसाइकल पनि खरानी भइसकेका छन् । जलेको मोटरसाइकल कसले प्रयोग गरिरहेको थियो भन्ने यकिन हुन मुस्किल छ । ट्याङ्कर र दम्कलहरू पनि जलाइदिए प्रदर्शनकारीले । प्रदर्शनकारीको पहिलो आक्रमण सुरु भएको घोराही उपमहानगरपालिका, अन्ततः मध्याह्नतिर प्रदर्शनकारीले जलाइदिए । प्रहरीले सुरक्षा दिइरहँदा पनि प्रदर्शनकारी जबर्जस्तीभित्र प्रवेश गरेर घोराही उपमहानगरपालिका एक घण्टाको बिचमै ध्वस्त बनाइदिए ।

त्यसो त प्रदर्शनकारीको पहिलो निसानामा घोराही उपमहानगरपालिका परेको थियो । विद्यार्थीले बिदा नदिएको आक्रोश बिहानैदेखि पोखिरहेका देखिन्थे । पटक पटकको प्रयासपछि प्रदर्शनकारीले घोराही उपमहानगरपालिकाभित्र प्रवेश गरी सामान जलाइदिए । तोडफोडको सीमा नै रहेन । यद्यपि घोराही उपमहानगरपालिकाको उच्च सतर्कताका कारण चल्ती अवस्थामा रहेका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत चढ्ने सवारी साधनहरू भने जल्नबाट जोगिएको उपमहानगरपालिका स्रोतले बताएको छ । निराशा, भरोसा र कानूनी उत्तरदायित्व पूरा गर्दै कफ्र्युमा पनि कार्यालय आएर हामीले जलेका सामानको क्षति विवरण कलेक्सन गरिरहेका छौँ’, प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम केसीले भने । कार्यालय आएका केही कर्मचारीले आआफ्ना शाखामा भएका क्षतिका मुचुल्का उठाएर स्टोर शाखालाई बुझाइरहेका देखिन्छन् । केही कर्मचारी आआफ्ना शाखाको आन्तरिक सरसफाइमा लागेका छन् । जनप्रतिनिधिको उपस्थिति नै अन्योल छ ।

‘जलेको बबई गाउँपालिकामा त अझै पनि बचेका सामान चोर्ने त्रास छ । प्रदर्शनकारी आगजनी गरेर गइसकेपछि पनि स्थानीयले पालिकाबाट सामान चोर्ने गरेकाले हामीले अहिले बचेका सामानका रक्षा गरिरहेका छौँं’, बबई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीले भने । उनका अनुसार मुचुल्का उठाउन स्थानीय प्रहरीलाई बोलाए पनि अझै आएका छैनन्, कर्मचारी एक्लैले कसरी मुचुल्का उठाउने भन्नेमा प्रमुख प्रशासकीय अधिकृत अन्योलमा रहेको बताउँछन् । जनप्रतिनिधि आएका छैनन् । यस्तै अवस्थामा छन्, जिल्लामा रहेका अन्य स्थानीय पालिकाका कर्मचारी पनि । प्रदर्शनीले वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएपछि स्थानीय तहका जनप्रतिनिधि अन्योलमा छन् । उनीहरूलाई कसले निर्देशन गर्ने भन्नेमा पनि राज्य संयन्त्र अन्योल छ । स्थानीय तहका जनप्रतिनिधिको अबको जिम्मेवारीका विषयमा अन्योल छ । त्यससँगै पुनः आक्रमणको त्रास पनि यथावतै छ । यसै सन्दर्भला लिएर तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले आफ्नो गुनासो केही सञ्चार माध्यमलाई म्यासेज गरेका छन्, ‘आज जनताको सम्पत्ति जलाइएको छ ।

संसद् भवन बैंक, सरकारी कार्यालय, अदालतहरू, स्थानीय पालिका जलाएर शान्ति र रोजगार खोस्ने प्रयन्त भइरहेको छ । कानूनी राज्य भत्काउने, अपराधीहरू छुटाउने, बैंक ठगहरूलाई उन्मुक्ति दिँदै कारागारा खाली गर्ने, अराजकता, लुटपात र आगजनीको संस्कृतिबाट लोकतन्त्र सुदृढ हुनै सक्दैन । एक्काइसौँ शाताब्दी प्राविधिको युगमा पनि आतङ्कको सहाराबाट सत्ता प्राप्त गर्ने कल्पनाले केवल प्रतिशोध साँध्ने रोमान्टिक प्रदर्शन गर्ने रहर पूरा भएको छ । तर, खरानी भएको सिंहदबार, अदालत, सरकारी भवन पुनर्निमाण गर्ने कठिनाइ छ । जनतालाई सेवा दिने ठाउँ नै छैन, कहाँ बसेर सेवा दिने ? जनताले भोट दिएर विजयी भएका जनप्रतिनिधि त अस्थायी हुन्, उनीहरूलाई मन नपर्दा शान्तिपूर्ण तवरबाटै भोटबाट बहिस्कृत हुन्छन् ।

जनप्रतिनिधिको सार्वजनिक पद आवधिक अस्थायी पद हो । पदमा बसेर सेवा दिँदा सबैको न्याय नहुन सक्छ । सबैले न्याय पाउने व्यवस्था पनि कहीँ हुँदैन । त्यसैको आधारमा टेकेर प्रतिशोधबाट शासन सञ्चालन गर्ने धृष्टता नदेखाउनु नै बेस हुन्छ । सबै प्रकारका प्रतिशोध र विध्वंसकारी गतिविधि रोकौँ । राष्ट्रिय एकता, शान्ति, सद्भाव, अमन, चयन कायम गरी मुलकमा लोकतान्त्रिक सत्ता सञ्चालन गर्न वार्ता, सम्वाद र सहकार्य नै मुलुकको अपरिहार्य नीति अवलम्बन गरौँ । नेपालको जय होस’, मेयर खड्काले पत्रकारहरूलाई पठाएको म्यासेज हो, यो । तुलसीपुर मालपोतमा सेवा अनिश्चितकालीन मालपोत कार्यालय तुलसीपुरले आगजनीका कारण सम्पूर्ण सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको जनाएको छ । सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ती जारी गर्दै भदौ २४ गते कार्यालयमा गरिएको आगजनीका कारण कार्यालयभित्र रहेका मोठ स्रोत, पुर्जा, तामेली मिसिल, लिखत, मुद्दा, प्रशासनिक कागजात, लेखा तथा रजिस्ट्रेशनका विवरणसहितको सर्वर र भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएकाले सेवा अवरुद्ध भएको जनाएको हो । कार्यालयले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सेवा बन्द रहने बताउँदै कार्यालयले सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *