राप्तीमा २३ हजारभन्दा बढीका अखाद्य वस्तु नष्ट

तुलबहादुर कवँर मगर
भालुबाङ, १८ भदौ । दाङको राप्ती गाउँपालिकाले बजार अनुगमनका क्रममा जफत गरेको २३ हजार ७ सय ३० रुपैयाँ बराबरका अखाद्य वस्तु नष्ट गरेको छ ।
गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा नेपाल प्रहरी र पत्रकारसमेतको टोलीले भदौ १७ र १८ गते दुई दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा म्याद गुज्रेका तथा लेबलविहीन सामग्री जफत गरिएको थियो । ती सामग्री बुधबार गाउँपालिकाको कार्यालय मसुरिया परिसरमा नष्ट गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालका अनुसार अनुगमनका क्रममा तेल, सुजी, बिस्कुट, प्याकिङ गरिएको खाजा, मसला तथा विभिन्न पेय पदार्थ म्याद गुज्रेको अवस्थामा फेला परेका थिए ।
यस्ता वस्तुहरूले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३४ अनुसार प्रक्रिया पूरा गरी नष्ट गरिएको उहाँले जानकारी दिए । हाल हैजा, झाडापखाला, डेंगीजस्ता रोग फैलिन थालेको र होटल, मासु पसल, डेरी तथा किराना पसलमा अखाद्य वस्तु प्रयोग हुने क्रम बढ्दै गएको भन्दै गाउँपालिकाले उपभोक्ता ठगिन नदिन बजार अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ ।