सामुदायिक विद्यालयको नतिजा सुधार हुनुपर्छ : मुख्यमन्त्री आचार्य

घरसञ्चार

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधार्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।

मोहन कन्या माध्यमिक विद्यालय, तानसेन, पाल्पाको ७५ औं वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्दै उहाँले विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रक्रियाको प्रभावकारी कार्यान्वयनमार्फत मात्र सामुदायिक विद्यालयप्रति जनआस्था बलियो हुने उल्लेख गरे । ‘सामुदायिक विद्यालयले आफ्नो नतिजा सुधार्न सके भने निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्छन्,’ मुख्यमन्त्री आचार्यले भने, ‘यसका लागि शिक्षकहरूले आत्मसमिक्षा गर्दै जिम्मेवारीपूर्वक अध्यापन गर्नुपर्छ, सरकारले कुनै कमी हुन दिनेछैन ।’

उनले शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको भन्दै शिक्षककाे सीप तथा दक्षता वृद्धि, सूचना प्रविधिको प्रयोग, विद्यालयको चौतर्फी विकास र अभिभावकको सक्रिय भूमिका सुनिश्चित गर्ने कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिए । विद्यालयको गौरवपूर्ण इतिहास स्मरण गर्दै उहाँले महिलाको शिक्षामा अग्रसर संस्थाको रुपमा यस विद्यालयको योगदान विशेष रहेको उल्लेख गरे । मेहनत र लगनशीलताबाट नेपालमै पनि ठूलो उपलब्धि हासिल गर्न सकिने भन्दै युवाहरूलाई अवसरको सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा ‘आरती हीरक स्मारिका’ विमोचन र स्मारक अनावरण गरिएको थियो । विद्यालयले हीरक महोत्सवको अवसरमा गुणस्तरीय तथा प्राविधिक नारी शिक्षा सम्बन्धी राष्ट्रिय गोष्ठी, प्राज्ञिक छलफल र खेलकूद कार्यक्रम आयोजना गरेको थियो । हीरक महोत्सवको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रदेश सभा सदस्य, प्रमुख सचिव, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *