दशै खर्च जोहो गर्न भारत पुगेका सल्यानका ३ जना बाढीपहिरोमा परि बेपत्ता

नबिन पि.एम.
सल्यान । भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको छेनागाडमा गत शुक्रबार राति आएको बाढीपहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका-५ राउचेका बर्ष ६९ का भीम बहादुर बुढा, वडा-६ कालागाउँका बर्ष ४९ का शरद आग्री र उनका छोरा बर्ष २४ का दीपक आग्री बेपत्ता भएका हुन् । गत ‘शुक्रबारदेखि नै बुबा र दाइ बेपत्ता भएका र अहिलेसम्म सम्पर्कमा आउन नसकेको शरदका छोरा दुर्गा आग्रीले बताए । खोजीका लागि आफु पनि भारत जानुका साथै सबैमा खोजी र उद्धार कार्यको लागी आग्रह गरेका छन् । उनिहरु तीनैजना गत साउन १६ गते खेतीपाती सकेर दसैं खर्च जोहो गर्न मजदुरीका लागि रुद्रप्रयागको पूर्वी बागर छेनागाड पुगेका थिए ।
भदौ १२ गते राति छेनागाडमा भारी वर्षा भएको थियो । सो बाढीपहिरोमा परि त्यहाँका धेरै घरमा क्षति पुगेको र ८ जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।पहिरोमा परी ८ जना बेपत्ता भएको जानकारी आएपनि सल्यानका कति परे भनेर अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।