निजी विद्यालयमाथि अन्याय हुँदैन : मेटमणी चौधरी

घरसञ्चार
दाङ, १४ भदौ । नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले निजी विद्यालयमाथि अन्याय नहुने बताएका छन् । विद्यालय शिक्षक विधेयक निजी विद्यालयको हित विपरीत रहेको भन्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता सङ्गठनको ज्ञापनपत्र बुझ्दै नेता चौधरीले निजी विद्यालयमाथि अन्याय नहुनेमा विश्वास गर्न आग्रह गरेका हुन् ।
आज शनिबार प्याब्सन दाङले बुझाएको ज्ञापनपत्र बुझ्दै पूर्व मन्त्रीसमेत रहेका चौधरीले निजी विद्यालयका पक्षमा आफूले सदनमा कुरा उठाउने बताए । ‘नेपालको शैक्षिक उन्नयनमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण छ । निजी विद्यालयको योगदानलाई सरकारले अवमूल्यन गर्न मिल्दैन । लगभग ५४ वर्षपछि आउन थालेको शिक्षा ऐन निजी विद्यालयको पक्षमा उदार रहन आवश्यक छ । सदनमा यस विषयमा मैले मेरो पार्टीको तर्फबाट निजी विद्यालयका पक्षमा धारणा राख्ने छु । निजी विद्यालयमाथि अन्याय हसन दिने छैन ।’ ज्ञापनपत्र बुझ्दै नेता चौधरीले थपे, ‘शिक्षा निजी विद्यालयका लागि चेन होइन चैन हुनुपर्छ । राज्यकै प्रतिष्ठा बढाउँदै आएका निजी विद्यालयलाई बाइपास गर्ने खालको शिक्षा ऐन बनाउन सरकारलाई छुट छैन र सरकारले बाइपास गर्दैन पनि ।’
यतिबेला देशभरबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रतिनिधिहरुलाई निजी विद्यालयका छाता सङ्गठनहरुले ज्ञापनपत्र बुझाइरहेका छन् । सोही कार्यक्रमबिच प्याब्सन दाङ तथा प्याब्सन दाङ अन्तर्गतका प्याब्सन लमही, प्याब्सन गढवा र प्याब्सन राप्तीको उपस्थितिमा नेता चौधरीलाई ज्ञापनपत्र बुझाइएको हो । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य रेशमबहादुर बुढा, प्याब्सन लुम्बिनी प्रदेशका सदस्य राजु यादव, प्याब्सन दाङका उपाध्यक्ष शोभाखर भुषाल, प्याब्सन लमहीका अध्यक्ष नारायण भुषालले निजी विद्यालयका समस्या तथा मागबारे धारणा राखेका थिए ।