बंगलाचुली गाउँपालिकाको वार्षिक समिक्षा : ८६ प्रतिशत बजेट खर्च

घरसञ्चार
दाङ । बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल पूँजीगत बजेटको ८६ प्रतिशत बजेट खर्च गरेको छ । शुक्रवार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यस्तो जानकारी दिएको हो । त्यस्तै आर्थिक २०८१ /०८२ को वार्षिक नीति योजना तथा कार्यक्रम समावेश भएको कुल आयोजना मध्ये ९१ प्रतिशत कार्य सम्पन्न गरेको छ ।

गाउँपालिकाले गौरबको आयोजना एक घर एक धारा कार्यक्रम सम्पन्न गर्नका लागि खानेपानी गुरुयोजना २०८१ तयार तथा स्वीकृत गरेको, बंगलाचुली अस्पताल सेवा विस्तारसँगै , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस अध्यापन गराउन Community Training Hospital सञ्चालन गर्न सहमती प्रदान गरेको र सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र राजश्व सङ्कलन कार्यलाई अनलाइनमा आधारित बनाई तल्लो तहसम्म विस्तार गरिएको जानकारी दिएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले बंगलाचुली गाउँपालिकाको विकासका लागि समीक्षा कार्यक्रम निकै महत्त्वपूर्ण हुने बताए । उनले पालिकाको यो वार्षिक प्रगति विवरण समीक्षाले आगामी दिनका योजना तथा कार्यक्रमलाई व्यवस्थित र उत्कृष्ट बनाउन सहयोग पुग्ने बताए ।


अध्यक्ष पुनले समग्र पालिकाको प्रगति विवरण राम्रो भएको भन्दै पालिकाको खर्चसँगै आम्दानी वृद्धिका लागि आन्तरिक स्रोत जोड्ने तर्फ सबैले ध्यान दिनुपर्ने बताए । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले सम्पूर्ण वडा र शाखाले गरेका प्रगति विवरण वार्षिक समीक्षा कार्यक्रममा नभएर मासिक रुपमा प्रतिवेदन बुझाउनुपर्ने बताए । त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यक्रमको बारेमा प्रकाश पार्दै गाउँपालिकाभित्र रहेका सम्पूर्ण वडा र शाखाले एक आर्थिक वर्षमा गरेका काम, कारबाही र प्रगति के कस्तो भयो भनेर समीक्षा गर्ने थलो भएको बताए । यस्ता समीक्षा तथा छलफल कार्यक्रमले आगामी दिनमा हुने कार्यहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने उनको जोड थियो ।


आर्थिक प्रशासन शाखाका वरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्यले चालू र पूँजीगत गरी कुल बजेको ८३ प्रतिशत रकम खर्च भएको बताए । समयमै योजनाहरु सम्पन्न नहुँदा सोचजस्तो बजेट खर्च हुन सकेको उनले बताए । कार्यक्रममा योजना तथा प्रशासन प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा शाखा प्रमुख ओम केसी, स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसी, कृषि शाखा प्रमुख ज्ञानराज कँडेल, आयुर्वेद शाखा प्रमुख कविराज ॠषिराज शर्मा, पशु स्वास्थ्य शाखाका प्रमुख माधव भट्टराई, रेडियो बंगरालाचुलीका स्टेशन म्यानेज जीवन रोका, राजस्व शाखा प्रमुख महेन्द्र शर्मा, पञ्जीकरण शाखा प्रमुख कमल कवँर मगर, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट कल्पना केसी, लघु उद्यम शाखाका सहजकर्ता बिरेन्द्र चौधरीले आर्थिकवर्ष २०८१/०८२ मा भएका शाखागत प्रगति विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै वडा नम्बर ८ का वडा सचिव प्रकाश जैसी, वडा नम्बर ७ का वडा सचिव तुलसी केसी, वडा नम्बर ६ की वडा सचिव मनमाया खड्का, वडा नम्बर ५ का वडा सचिव गोकर्ण बुढा, वडा नम्बर ३ र ४ का सचिव वेदुराम पाण्डेय, वडा नम्बर २ की वडा सचिव विन्दु शर्मा, वडा नम्बर १ का सचिव टोपेन्द्र वलीले वडाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै भौतिक प्रगति शतप्रतिशत भएको र योजनाका काम उपभोक्ता समितिहरु मार्फत समयमै सम्पन्न गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *