लमही-७ मा अटोको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु
घरसञ्चार
दाङ, साउन ७ । दाङको लमही नगरपालिका-७ कप्तानगञ्जमा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
बिहीबार बेलुका करिब ७:४५ बजे लमहीबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ३७४१ नम्बरको अटोले पूर्वतर्फ पैदल हिँडिरहेका लमही नगरपालिका ७ कप्तानगञ्ज निवासी ७२ वर्षीय रामबहादुर घर्ती मगरलाई पम्प नजिक ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका घर्ती मगरको टाउकोमा गहिरो चोट लागेको थियो ।
उनलाई तत्काल लमही अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि घोराहीस्थित सञ्जीवनी शिक्षण अस्पतालमा रेफर गरिएकोमा चिकित्सकले त्यही मृत घोषणा गरेका हुन् । दुर्घटनामा संलग्न अटोका चालक लमही नगरपालिका-७ उचानिम्बु निवासी ४० वर्षीय जितराम चौधरी र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।।






