दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला
घरसञ्चार
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन् ।
स्थानीयवासीले निर्माणाधीन भवनको पानी ट्याङ्कीभित्र दुई जनाको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ ।
प्रहरीका अनुसार मृतक दुवै जनाको हालसम्म पहिचान खुल्न सकेको छैन । शवलाई ट्याङ्कीबाट निकालेर कानुनी प्रक्रिया पूरा गर्दै पोस्टमार्टम तथा पहिचानका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न नसकेको र सबै पक्षबाट अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।






