बढ्दो शहरीकरणलाई सम्बोधन गर्न लमहीमा बृहत् खानेपानी पाइपलाइन विस्तार शुरु

टेकबहादुर पुन

दाङ । तीव्र शहरीकरण, बढ्दो जनसंख्या तथा खानेपानीको बढ्दो मागलाई मध्यनजर गर्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३५ करोड ३५ लाख रुपैयाँ लागतको बृहत् खानेपानी पाइपलाइन विस्तार आयोजना सुरु गरेको छ ।

नेपाल सरकारको ७० प्रतिशत र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ३० प्रतिशत सहलगानीमा सञ्चालन भएको आयोजनाअन्तर्गत करिब २१० किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्न लाएको हो । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण कार्य कुलमोहर क्षेत्रबाट औपचारिक रूपमा सुरु गरिएको छ । हाल विभिन्न स्थानमा नाली खन्ने, पाइप गाड्ने कामहरू अगाडि बढाइएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनमकुमार पौडेलले लमही नगर क्षेत्रको तीव्र विकास र बढ्दो जनघनत्वका कारण खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै भविष्यको आवश्यकतालाई ध्यानमा राखेर आयोजना सुरु गरिएको जानकारी दिए । उनले भने, “लमही खानेपानी आयोजना सञ्चालनमा आउँदा हाम्रो क्षमता करिब दुई हजार ६ सय ७९ उपभोक्तासम्म सीमित थियो । तर अहिले उपभोक्ताको संख्या पाँच हजार ६ सयभन्दा माथि पुगेको छ ।

नगरको विस्तार र नयाँ बस्ती विकाससँगै आगामी वर्षहरूमा खानेपानीको माग अझै बढ्ने निश्चित छ । त्यसैले अहिले नै दीर्घकालीन सोचका साथ पाइपलाइन विस्तार गर्न आवश्यक भएको हो ।” अध्यक्ष पौडेलका अनुसार आयोजनाको मुख्य उद्देश्य लमही नगरवासीलाई शुद्ध, सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउनु हो । उनले खानेपानी सेवा केवल वर्तमान आवश्यकता पूरा गर्न नभई आगामी दशकसम्मको सम्भावित मागलाई समेत ध्यानमा राखेर योजना तयार गरिएको बताए । “हामीले अहिलेको अवस्थालाई मात्र हेरेर योजना बनाएका होइनौं । लमही नगरको भविष्यलाई मध्यनजर गर्दै आगामी वर्षहरूमा हुने जनसंख्या वृद्धि र शहरी विस्तारलाई समेत समेट्ने गरी आयोजना अघि बढाएका छौं । आयोजना सम्पन्न भएपछि खानेपानी वितरणमा गुणात्मक सुधार आउनेछ,” अध्यक्ष पौडेलले भने ।

खानेपानी आयोजनाका इन्जिनियर रमेश शर्माका अनुसार आयोजनाअन्तर्गत ४ इन्चदेखि माथिका विभिन्न क्षमताका पाइपहरू आवश्यकता अनुसार विस्तार गरिनेछ । नगरका विभिन्न बस्ती तथा विस्तार हुँदै गएका आवासीय क्षेत्रमा पर्याप्त पानी पुर्‍याउन सक्ने गरी पाइपलाइन सञ्जाल निर्माण गर्न लागिएको उनले बताए । उनका अनुसार सडक ट्र्याक खुलेका तथा आवश्यक ठानिएका स्थानहरूमा दोहोरो लाइनमार्फत पाइप विस्तार गरिने व्यवस्था मिलाइएको छ । “हामीले भविष्यमा थप उपभोक्ता जोडिँदा पनि समस्या नआउने गरी डिजाइन गरेका छौं । आवश्यकताअनुसार ठूलो क्षमताका पाइप प्रयोग गरिनेछ । निर्माण कार्य गुणस्तरीय र दिगो बनाउनेतर्फ विशेष ध्यान दिइएको छ,” इन्जिनियर शर्माले बताए ।

आयोजनाको अनुगमन समितिका संयोजक तथा सचिव वसन्त आचार्यले निर्माण कार्यको नियमित अनुगमन गरिने जानकारी दिए । उनले तोकिएको समयसीमा र गुणस्तरमा कुनै सम्झौता नगरी आयोजना सम्पन्न गरिने बताए । “उपभोक्ताको लगानी पनि जोडिएको आयोजना भएकाले पारदर्शिता र गुणस्तरमा विशेष ध्यान दिइनेछ । नियमित अनुगमनमार्फत निर्माण कार्यलाई प्रभावकारी बनाइनेछ,” उनले भने । संस्थाकी कार्यसमिति सदस्य बबिता खत्रीले आयोजना लमहीको खानेपानी व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास व्यक्त गरिन् । उनले खानेपानीको पहुँचबाट वञ्चित तथा न्यून दबाबमा पानी पाइरहेका बस्तीलाई प्राथमिकतामा राखेर विस्तार कार्य भइरहेको बताइन् ।

आयोजनाअन्तर्गत लमही नगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ का विभिन्न बस्तीहरूमा पाइपलाइन विस्तार गरिने भएको छ । देउपुर, खैरी, मध्यनगर, ढिकपुर, कसियापुर, लङ्गडी, आदर्शटोल, कोलही, बसन्तनगर, प्रगतिटोल, चैलाही, उत्तर बनगाउँ, नारायणपुरका केही क्षेत्र, छुट्की महरूवा, बड्का महरूवा, गोरक्षटोल, लमही गल्ली, अर्नहवा, सुनखोली, शान्तिनगर, आर्मी क्याम्प, सशस्त्र प्रहरी क्याम्प, कुलमोहर लगायतका क्षेत्रसम्म आवश्यकता अनुसार नयाँ पाइपलाइन विस्तार गरिने जनाइएको छ । संस्थाका अनुसार आयोजनाबाट प्रत्यक्ष रूपमा करिब ११ हजार जनसंख्या लाभान्वित हुनेछन् । हाल खानेपानीको पहुँच कम भएका तथा जनसंख्या वृद्धि भएका क्षेत्रहरूमा समेत सेवा विस्तार गरिने भएकाले हजारौं नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।

लमही नगर क्षेत्रमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बस्ती विस्तार भएको छ । ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरेर आउनेको संख्या बढ्नुका साथै व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा लमहीको विकास भइरहेकाले खानेपानीको माग पनि निरन्तर बढिरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै संस्थाले दीर्घकालीन योजना अन्तर्गत पाइपलाइन विस्तारलाई प्राथमिकतामा राखेको हो । अध्यक्ष पौडेलले आयोजनाको सफल कार्यान्वयनका लागि उपभोक्ताको सहयोग आवश्यक रहेको बताउँदै निर्माण अवधिमा केही असुविधा हुन सक्ने भए पनि त्यसलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।
“पाइप गाड्ने क्रममा सडक तथा आवागमनमा केही असहजता हुन सक्छ । तर यो अस्थायी समस्या मात्र हो । आयोजना सम्पन्न भएपछि लमहीवासीले वर्षौंसम्म गुणस्तरीय खानेपानी सेवा पाउनेछन् । त्यसैले सबै उपभोक्ताले सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास छ,” उनले भने ।

उनका अनुसार आयोजना सम्पन्न भएपछि खानेपानी वितरण प्रणाली थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बन्नेछ । साथै भविष्यमा बढ्ने जनसंख्या र विस्तार हुने बस्तीहरूलाई समेत सहज रूपमा सेवा उपलब्ध गराउन सकिनेछ । स्थानीयवासीले पनि लामो समयदेखि खानेपानी सेवामा सुधारको अपेक्षा गर्दै आएका थिए । नयाँ आयोजना सुरु भएसँगै खानेपानी अभाव, न्यून दबाब तथा वितरण असमानताका समस्या क्रमशः समाधान हुने विश्वास गरिएको छ । शुद्ध, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यो आयोजना लमही नगरको पूर्वाधार विकास तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *