लमहीमा पहिलोपटक अन्तर्राष्ट्रिय लाटोकोसेरो-हुचिल उत्सव, संरक्षण सन्देशसहित तयारी तीव्र
घरसञ्चार
दाङ । दाङको लमहीमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएको छ । संकटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित हुने यस उत्सवको तयारी तीव्र पारिएको छ ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा बैशाख १८ र १९ गते लमहीस्थित जैविक विविधता ग्रीनपार्कमा १३औँ संस्करणको उत्सव सञ्चालन हुन लागेको हो । बुधवार लमहीमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले उत्सवको तयारीबारे जानकारी गराएका हुन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालका अनुसार यसअघि कात्तिक ९ गते नै दुवै संस्थाबीच लमहीमा उत्सव आयोजना गर्ने सम्झौता भएको थियो ।
उत्सवको मुख्य उद्देश्य किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ ।
प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार र चोरी सिकार बढ्दै जाँदा यसको अस्तित्व संकटमा परेको छ । यही अवस्थालाई ध्यानमा राख्दै संरक्षण अभियानलाई सशक्त बनाउन उत्सव आयोजना गरिएको उनले बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा चरा तथा वन्यजन्तु संरक्षणको सन्देश पुर्याउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने र जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिँदै आएको छ । यसअघि धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ लगायतका जिल्लामा यो उत्सव सम्पन्न भइसकेको छ भने लमहीमा पहिलोपटक आयोजना हुन लागेको हो ।
वन्यजन्तु संरक्षणकर्मी चिरञ्जिबी खनालका अनुसार लाटोकोसेरोका लागि आवश्यक वासस्थानको अभाव बढ्दै गएको छ । ठूला र बूढा रुखको कटानी, परम्परागत घर संरचनाको कमी तथा आधुनिक निर्माण शैलीका कारण यसले सुरक्षित बासस्थान पाउन कठिन भएको उनले बताए । साथै, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीका कारण आहाराको अभाव सिर्जना भई लाटोकोसेरो लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ ।
उत्सवमा दुई दिनसम्म विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने छन् । पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा भिडियो–स्लाइड प्रस्तुति राखिनेछ । दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका साथै स्थानीय थारु, मगर, गुरुङ, कुमाल लगायतका समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता पनि आयोजना गरिनेछ । उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने तयारी गरिएको छ । लाटोकोसेरोलाई किसानको साथीका रूपमा लिइन्छ, किनकि यसले मुसा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । एक जोडी लाटोकोसेरो र यसको बच्चाले चार महिनाको अवधिमा करिब तीन हजारसम्म मुसा खाने अनुमान गरिएको छ । यसले किरा, फट्यांग्रा, सर्प र भ्यागुतालाई समेत नियन्त्रण गर्ने गर्दछ ।
कानुनी रूपमा लाटोकोसेरोको शिकार वा किनबेच गर्न पाइँदैन । यदि कसैले यस्तो गरेमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था रहेको छ । नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भए पनि यसको यकिन संख्या उपलब्ध छैन । विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख छ भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख अवस्थामा रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।
उत्सवको प्रचारप्रसारलाई तीव्र बनाउन विभिन्न विद्यालयहरूसँग सहकार्य गरी विद्यार्थीहरूबाट चित्रकला, कविता र निबन्ध संकलन गर्ने, निमन्त्रणा वितरण गर्ने लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार उत्सवलाई सहभागितामूलक र प्रभावकारी बनाउन स्थानीय समुदायको सक्रियता बढाइएको छ । यसैबीच, उत्सवको ब्यानर समेत सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, आयोजक संस्थाका अध्यक्ष पवन शर्मा रिजाल, निर्देशक राजु आचार्य लगायतका प्रतिनिधिहरूले संयुक्त रूपमा ब्यानर अनावरण गरेका हुन् । उत्सवमार्फत लाटोकोसेरो मात्र नभई समग्र जैविक विविधता संरक्षण, स्थानीय संस्कृति प्रवर्द्धन र पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा आयोजकले गरेका छन् ।





