गोरखा मोडेल लमहीको सातौँ बार्षिकोत्सब,शिक्षा नै समृद्धिको आधार : तिमिल्सिना

टेकबहादुर पुन

देउखुरी । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षित र दक्ष जनशक्तिको पूर्ण परिचालन बिना कुनै पनि राष्ट्र र समाजको दिगो विकास सम्भव नहुने बताएका छन । वर्तमान युग ज्ञान र प्रविधिको युग भएकाले व्यवहारिक, प्राविधिक तथा गुणस्तरीय शिक्षा अपरिहार्य भइसकेको उनको भनाइ छ ।

शनिबार लमही-६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौँ वार्षिकोत्सव उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा किताबमा मात्र सीमित नरही व्यक्ति, समाज र राष्ट्रको आवश्यकता पूरा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । उनका अनुसार तीनै तहका सरकारले आफ्नो कुल बजेटको उल्लेख्य अंश शिक्षामा खर्च गर्नुपर्ने आवश्यकता देखिएको छ । “लुम्बिनी प्रदेश सरकारले विकास बजेटको अनुपातमा शिक्षामा लगानी गर्दै आइरहेको छ,” मन्त्री तिमिल्सिनाले भने, “तर सोचेअनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन ।” शिक्षालाई गुणस्तरीय, प्रभावकारी र विश्व बजारमा प्रतिस्पर्धी बनाउन शिक्षा मन्त्रालय तथा स्थानीय तहसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । ती कार्यक्रमहरू शिक्षकसँग सम्बन्धित मात्र नभई विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने खालका रहेको उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले शिक्षा दीर्घकालीन बनाउन व्यवहारिक सिकाइ आवश्यक रहेको उल्लेख गरे । “डटेर अध्ययन र साधनामा लागे मात्रै समाज परिवर्तन सम्भव हुन्छ,” उनले भने, “सानोतिनो ज्ञानले समाज बदल्न सक्दैन । पढ्दै, लेख्दै र बुझ्दै प्राप्त गरिएको ज्ञान नै जीवनभर उपयोगी हुन्छ ।” कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले असल शिक्षा प्रतिस्पर्धाको एउटा कठिन परीक्षा भएको बताए । “सबै मानिस एउटै क्षेत्रमा सफल नहुन सक्छन्,” उनले भने, “त्यसैले आफ्नो क्षमता पहिचान गरी दक्ष ज्ञान हासिल गर्न आवश्यक छ, जसले जीवन र समाज दुवैको विकासमा योगदान पुर्याओस् ।” नगरप्रमुख चौधरीका अनुसार राम्रो शिक्षा सधैँ रचनात्मक हुन्छ र यसले भविष्य निर्माणमा अग्रसर गराउँछ । “उचित शिक्षा नपाउनु समाज विकासका लागि ठूलो घाटा हो,” उनले जोड दिए ।

लमही नगरपालिका उपप्रमख लक्ष्मी योगीले शिक्षाले समाजमा शान्ति स्थापना, गरिबी न्यूनीकरण, जातीय विभेद अन्त्य, सुशासन प्रवर्द्धन र अधिकारप्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताईन । “शिक्षा केवल जागिर खानका लागि मात्र होइन,” उनले भनिन्, “मानव जातिलाई सक्षम, सशक्त र आत्मनिर्भर बनाउने माध्यम पनि हो ।” वडाध्यक्ष सुबेदीले विद्यालयहरूले सुधार योजना र निरन्तर मूल्याङ्कन प्रणाली प्रयोग गरिरहे पनि अपेक्षित परिवर्तन नदेखिएको गुनासो गरिन् । “धेरैजसो कार्यक्रम कक्षाकोठामा नपुगी कागजी रूपमा सीमित छन्,” उनले भनिन्, “यसले विद्यालयलाई अक्षर चिनाउने स्थलमा मात्र सीमित बनाइरहेको छ ।”

कार्यक्रममा गोरखा मोडर्न सेकेन्डरी स्कुलका प्रधानाध्यापक लोकमान रिजालले असल शिक्षा व्यक्ति र समाज विकासको आधार भएको बताए । “एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि बलियो पृष्ठभूमि तयार गर्नु हो,” उनले भने । शिक्षाले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक विकासमा सन्तुलन ल्याई कुशल जीवन जिउन सहयोग गर्ने उनको भनाइ थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विज्ञान, समाज र वातावरणसँग सम्बन्धित विविध सिर्जनात्मक तथा अवधारणात्मक प्रदर्शनीहरू प्रस्तुत गरेका थिए । ग्रामीण र शहरी जीवन, वातावरण संरक्षण, प्रविधिको प्रयोगलगायत विषयमा तयार गरिएका प्रदर्शनीले उपस्थित अभिभावक, शिक्षक र अतिथिहरूको ध्यान आकर्षित गरेको थियो । सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरूको प्रस्तुति तथा प्रदर्शनीसहित सम्पन्न वार्षिकोत्सवले शिक्षालाई व्यवहारिक, गुणस्तरीय र समाजमुखी बनाउने सन्देश दिएको छ ।

गोरखा मोर्डन सेकेण्डरी स्कुल लमहीका अध्यक्ष विष्णु प्रसाद घर्तीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश समाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमा लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी, लमही नगरका सँस्थापक नगर प्रमुख कुलबहादुर केसी, नारायण भुषाल, रेशम बहादुर बुढा लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक प्रकाश ओली र सिला रिजालले संयुक्त रुपमा गरेका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *