पिएम कपमा नेपाल पुलिसकाे लगातार चाैथाे जीत, मधेश प्रदेश १९३ रनले पराजित

घरसञ्चार
दाङ । उपाधी दावेदारी देखाईरहेकाे नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनको फराकिलो अन्तरले हराउँदै पिएम कपमा लगातार चाैथाे जीत निकालेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज पुलिस क्लबले दिएकाे २८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे मधेश प्रदेशकाे टिम ९५ रन बनाउँदै २६ दशमलब १ ओभरमा अलआउट भएपछी १९३ रनकाे सहज जीत निकालेकाे हाे । मधेश प्रदेशलाई सस्तैमा समेट्न आजकाे खेलमा पनि ललित नारायण राजवंशीले सानदार बलिङ गरेर महत्त्वपूर्ण ५ विकेट लिए । पहिलाे ओभरकाे पाँचौं बलमा कप्तान अनिलकुमार साहलाई करण केसीले बाेल्ड गर्दै ४ रनमा पेभेलियन फर्काए पछि शुरु भएको विकेेट पतन २६ दशमलव १ ओभरमा सकियाे ।

मधेशका दिपेश दास ५९ बल खेल्दै १ छक्का र २ चाैकाकाे मद्दतमा ३१ रन बनाए । रुपेश सिंहले १६ रन, विशाल पटेलले १३ रन बनाए । हरिशंकर शाहले ३ रन, राेशन बिकले ८ रन, पवन सर्राफले ३ रन, निखिल सिंहले ७ रन, कमल गुप्ताले १ रन बनाए । अरु खेलाडीले खाता नै खाेल्न सकेनन् । ललितले ९ दशमलव १ ओभर बलिङ २ मेडनसहित २८ रन खर्चेर पाँच विकेट लिए । उनले मयन यादव, हरिशंकर शाह, राेशन बिक, दिपेश दास र पवन सर्राफकाे विकेट लिए । यस्तै, कुशल भुर्तेलले ३ ओभर बलिङ गर्दै २ मेडनसहित १२ रन दिएर २ विकेट लिए । पुलिसका करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए । टीमलाई भारी रन अन्तरले जिताउन महत्त्वपूर्ण भुमिका खेलेका ललितनारायण राजवंशी प्लेयर अफ द म्याच भए । यसअघि, नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी पारी खेल्दै ६३ रन बनाएपछि मधेश प्रदेशकाे टीमलाई २८९ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे थियाे ।

दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा नेपाल पुलिस क्लबले २८८ रन बनाएको थियाे । टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल पुलिस क्लबले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन बनायाेे । देउखुरी रंगशालामा अहिलेसम्मकै उच्च रन बनाउन कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेले । उनले ३६ बल खेल्दै ४ छक्का र ५ चाैकाकाे मद्दतमा ६३ रन बनाउँदै विशाल पटेलकाे बलमा निखिल सिंहकाे हातबाट क्याच आउट भए । यसैगरी आरिफ शेखले ५४ बलमा १ छक्का र ४ चाैकाकाे मद्दतमा ५५ रन बनाउँदै विशाल पटेलकै बलमा कप्तान अनिल साहकाे हातबाट क्याच आउट भए । दीलिप नाथ ४५ रनमा कमल गुप्ताको बलमा एलबीडब्लूकाे सिकार भए । ओपनर अर्जुन साउदलाई ४७ रनमा रञ्जित कुमारकाे बलमा मयन यादवले क्याच आउट गरे ।

नेपाल पुलिस क्लबका शंकर रानाले २७ रन, रासिद खानले १४ रन, कुशल भुर्तेलले ११ रन बनाए । पहिलाे विकेटका रुपमा कमल गुप्ताले आठाैँ ओभरकाे पहिलाे बलमा स्टम्पिङ आउट गर्दै ब्रेकथ्रु गरेपनि तेस्रो विकेटका लागि मधेशका खेलाडीलाई संघर्ष गर्नु पर्याे । तेस्रो विकेटका लागि दीलिप नाथ र आरिफ शेखले ५० रनकाे साझेदारी गरे । यसैगरी दीपेन्द्र र आरिफ बिचकाे ३२ बलमा ५० रनकाे अर्काे साझेदारी बनेकाे थियाे । मधेश प्रदेशका लागि रुपेश सिंहले ८ दशमलव ५ ओभरमा ६२ रन दिएर ४ विकेट लिए । विशाल पटेलले ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिँदा कमल गुप्ताले १० ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए । रञ्जित कुमारले ७ ओभरमा १ मेडनसहित ४० रन खर्चेर १ विकेट लिए ।

आजकाे जीतसँगै पुलिस क्लब चार खेलमा अपरााजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएकाे छ । मधेश प्रदेश भने ३ खेलमा १ मा जीत र दुईमा हार व्यहाेर्दै २ अंकका साथ छैठौं स्थानमा झरेको छ । यसअघि, हिजाे भएको खेलमा पुलिसले एपीएफलाई दुई विकेटले हराउँदा ललित नारायण राजवंशीले ७ विकेट लिएका थिए । विभागीय टीम पुलिस क्लबले हिजो डर्बी एपीएफलाई २ विकेटले हराउँदा यसअघि कोशी प्रदेशलाई १५४ रन र लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदै पिएम कपको दावेदारी देखाईरहेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत अब भाेली आईतबार लुम्बिनी प्रदेश र वाग्मती प्रदेश टीम बीच बिहान ९ बजे देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुनेछ ।

३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।