महिलालाई उद्यमी बनाउदै ७ नम्बर वडा कार्यालय

घरसञ्चार
दाङ । लमही नगरपालिका वडा नम्बर ७ ले वडाका महिलालाई उद्यमी बनाउन तालिमको आयोजना गरेको छ ।
सीप सिकाएर आत्मनिर्भर बनाउन वडा कार्यालयले वडामा सिलाई कटाई तालिम सुरुवात गरेको हो । सफल उद्यमी बनाउने उद्वेस्यले तीन महिने तालिम सुरु गरिएको छ । तालिमको एक औपचारिक कार्यक्रमका बीच लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले शुभारम्भ गरेकी हुन । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उपप्रमुख योगीले सिकेका कुरालाई ब्यबहारमा लागू गरि आत्मनिर्भर बन्नुपर्ने कुरामा जोड दिईन । कार्यक्रमकि प्रमुख अतिथी समेत रहेकी उपप्रमुख योगीले वडाको लगानी सँगै आफ्नो खर्चिलो समयको समेत सदुपयोग गर्दै लगनशिल बनेर सीप सिक्न आग्रह गरिन । उनले महिला अनिवार्य आत्मनिर्भर बन्नुपर्ने बताउँदै घर परिवारकै कपडा आफै सिलाउन सकेपनि बाहिर खर्चिनुपर्ने रकम बचत हुने र जसका कारण आर्थिक समृद्धिमा थप टेवा पुग्ने बताईन ।

कार्यक्रममा लमही नगरपालिकाका प्रबक्ता तथा ७ नम्बर वडाध्यक्ष मोहन गिरीले वडा महिलाहरुलाई सफल उद्यमी बनाई अर्थिक रुपले सक्षम बनाउने उद्देश्यले तीन महिने सिलाइ कटाई तालिमको आयोजना गरिएको बताए । सिलाई कटाई तालिमले घरको चुल्हो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास यस वडा कर्यालयले लिएको उनले बताए । सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गरे । महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उहाँहरुलाई स्वरोजगार बन्ने बाटो खुल्ने समेत उहाँले बताए । उनले भने,–। ‘लक्षित वर्ग र समुदायलाई तालिममा प्राथमिकता दिने तथा स्वयं सिकाई भएका एवम् बैदेशिक रोजगारबाट फर्किएका युवाहरु तथा महिलालाई निःशुल्क सीप परीक्षण गराउने कार्य पनि यस वडा कार्यालयबाट भएको छ ।’ ‘गरिबीको समस्याका कारणले प्राविधिक शिक्षा आर्जन गर्न बञ्चित विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने तथा शिक्षालयको गुणस्तर व्यवस्थाका लागि आर्थिक सहयोग र तालिम प्रदान गर्ने गरेको छ ।

तालिम मध्ये सिलाई कटाई र ब्युटिसियन सिक्नासाथ रोजगारदाता उद्यमी हुने भएकोले पनि महिला पुरुष दुबैको आकर्षण देखियो ।’ लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले प्रत्येक वर्ष उद्यम सम्बन्धी विभिन्न तालिमको आयोजना गरि बेरोजगार महिलाहरुलाई प्राविधिक सीप प्राप्त गर्ने अवसर प्रदान गरी आर्यआर्जनका माध्यमबाट जीवनस्तर सुधार ल्याउने उद्देश्यका साथ वडा कार्यालयले छोटो तथा लामो अवधिको तालिम कार्यक्रमहरु निःशुल्क उपलब्ध गराउँदै आएको छ । महिलाहरुलाई सिप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन गार्मेन्ट उद्योग संचालन गर्ने लक्ष्य सहित यो कार्यक्रम ल्याईएको वडाध्यक्ष गिरीले बताए । वडाध्यक्ष गिरीले कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास गरी रोजगारीको सिर्जना गर्ने दिशामा वडा सरकार अगाडि बढेको धारणा व्यक्त गरे । ३० जना महिलाहरुको सहभागिता रहेको तालिम ३ महिनासम्म चल्नेछ । तालिमको प्रशिक्षिकामा शोभा श्रेष्ठ र दिल कुमारी घर्ती रहेका छन । प्रशिक्षिका शोभा श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कमर्यक्रमको संचालन वडा सचिब शेरबहादुर चौधरीले गरेका थिए ।