आवधि समुदायको महान पर्व ‘गुडिया’

घरसञ्चार
दाङ । आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल–छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउँदछन् ।
गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको स्वर्गद्वारी कश्यप समाज सेवा समिति दाङका संस्थापक अध्यक्ष पिन्टु कुमार गप्ताले बताए । लगत्तै दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ ।
यस दिन सबैको घरमा खाने परिकार अन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार रहेको स्वर्गद्वारी कश्यप समाज सेवा समिति दाङका अग्रज तथा लमही स्थित ‘अंकुर म्युजिक हाउस’का सञ्चालक बिरेन्द्र कुमार गुप्ताले बताए । उनले यो अबसरमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि रहेको बताए । घुघरीमा चना, चामल, भेली मिठाइँ र आवश्यक लत्ताकपडासहितको गठरी सामथ्र्यअनुसार भाइ वा बुबाले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिए ।
यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ। युवायुवती गीतसङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधी अगुवा पण्डित शिवप्रसाद पाठकले बताए । उनका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ ।
यस दिन घरमा पाहुनालाई बोलाई सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदिकालबाट चलिआएको अगुवा पाठकले बताए । उनले भने, “सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वनजङ्गल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता समान मानिन्छ । सबै देव रूपमा रहेका छन्। यसलाई समयसमयमा पूजा गर्नुपर्छ।”
जादुगर (मदारी) ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ । स्वास्थ्यको हिसाबले वर्षातको मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम हुने भएको सेवा समाजका सुशील कुमार गुप्ता ‘गुड्डु’ले बताए । उनले त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेडागुडी पोषिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा छ । अवधीमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गी पैदा होत है।’
गुडिया पर्वसँग धार्मिक सम्बन्ध पनि रहेको समाजकि महिला सदस्य सन्तोष मन्त्रिले बताईन । उनका अनुसार भगवान् कृष्णले नागलाई नाथेका थिए । उनलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो । सर्प शत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ । सर्पलाई दूध र चना खुवाउने गरिन्छ । परापूर्वकालबाट गुडिया र होलीपर्व एकै दिन ९बार० मा पर्ने गर्दछन् । यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कायम गर्ने पर्वका रूपमा लिइएको छ ।