लमही-७ मा कांग्रेस वडा समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन

घरसञ्चार

दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमही नगरपालिका-७ को वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् ।

वडा अधिवेशनले प्रेमलाल चौधरीको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो ।
अधिवेशन वडा सभापति शालिकराम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रमुख अतिथि मोहन गिरीले वडा तहबाटै पार्टीलाई एकताबद्ध र बलियो बनाउन सर्वसम्मत नेतृत्व चयनको अभ्यास महत्वपूर्ण हुने धारणा राख्नुभयो । गिरीले नेतृत्व चयनका क्रममा प्रतिस्पर्धाभन्दा आपसी समझदारी, सहकार्य र सहमतिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र विचार र दृष्टिकोणमा फरक हुन सक्ने भए पनि संगठनलाई बलियो बनाउने सवालमा सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

“पार्टीको संगठनलाई बलियो बनाउने आधार भनेकै वडा तह हो । वडा तहमा आपसी समझदारी र सहमतिका साथ नेतृत्व चयन गर्न सकियो भने त्यसले माथिल्ला तहसम्म सकारात्मक सन्देश दिन्छ,” उहाँले भन्नुभयो ।
उहाँले स्थानीय तहमा पार्टीको संगठन विस्तार, क्रियाशील सदस्यबीचको सम्बन्ध सुदृढीकरण तथा जनतासँगको निरन्तर सम्पर्कलाई प्राथमिकतामा राखेर नयाँ समितिले काम गर्नुपर्ने धारणा राख्नुभयो । अधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रियाका रूपमा नभई संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

अधिवेशनमा वडा सहसचिव गोविन्द देवकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य कुलबहादुर बुढामगर, क्षेत्रीय सदस्य किरणविक्रम शाह, लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीलगायतले बोलेका थिए । अधिवेशनबाट वडा सभापतिमा प्रेमलाल चौधरी सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी उपसभापतिमा भरतलाल चौधरी र सबिता कँवर, सचिवमा सुवर्ण शाह तथा सहसचिवमा सुरेश दर्लामी चयन हुनुभएको छ । वडा समितिका अन्य आठ सदस्यसमेत सर्वसम्मत चयन भएका छन् ।

नयाँ वडा समितिले आवश्यक प्रक्रिया पूरा गरी कोषाध्यक्षसहित थप पाँच जना सदस्य मनोनित गर्ने छ । यसैगरी अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत चयन भएका छन् । वडा सभापतिसहित कुल ३३ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । यसले वडा तहमा सहमति र सहकार्यको वातावरण बनेको सन्देश दिएको कांग्रेस नेताहरूले बताएका छन् ।
लमही नगरपालिका-७ मा नेपाली कांग्रेसका २ सय ७७ जना क्रियाशील सदस्य रहेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट वडा कार्यसमितिसँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गतेका लागि तोकिएको छ ।

यसैगरी अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत चयन भएका छन्। वडा सभापतिसहित कुल ३३ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । लमही नगरपालिका-७ मा नेपाली कांग्रेसका २ सय ७७ जना क्रियाशील सदस्य रहेका छन् ।
अधिवेशनको अवसरमा नेपाली कांग्रेसको संगठन र पार्टी गतिविधिमा योगदान पुर्‍याएका १८ जनालाई दोसल्ला तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ । प्रतिनिधिसभा निर्वाचनका क्रममा दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीको निर्बाचनमा आर्थिक सहयोग गरेको भन्दै वडा नम्बर ७ का १७ जना सहयोगदातालाई सम्मान गरिएको हो ।

त्यस्तै द्वन्द्वकालका कठिन परिस्थितिमा साविक सतबरियाको इकाइ सभापतिको जिम्मेवारीमा रहेर पार्टी संगठनलाई सुदृढीकरण तथा चलायमान बनाउन योगदान पुर्‍याएको भन्दै तत्कालीन इकाइ सभापति तिलकराम केसीलाई समेत सम्मान गरिएको छ ।अधिवेशनमा सम्मानित व्यक्तिहरूले पार्टी संगठन निर्माण र सुदृढीकरणका क्रममा आफूहरूले गरेको योगदानको स्मरण गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *