देउखुरी उद्योग वाणिज्य संघको १३औँ पद हस्तान्तरण तथा शपथग्रहण सम्पन्न
घरसञ्चार
दाङ । देउखुरी उद्योग वाणिज्य संघ, लमहीको १३औँ पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघको नवनिर्वाचित कार्यसमितिलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुका साथै नयाँ पदाधिकारीहरूले शपथग्रहण गरेका छन् ।
कार्यक्रम संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले उद्योगी तथा व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्धन र स्थानीय आर्थिक विकासमा संघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ २७ गते हुने भनिएको निर्वाचनमा सबै पदमा एकल उम्मेदवारी परेपछि अध्यक्षसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । निर्वाचन समितिले सोमबार, भदौ २२ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै तोकिएको समयभित्र कुनै पनि पदमा एकभन्दा बढी उम्मेदवारी नपरेको जनाएको थियो । सोही आधारमा सबै उम्मेदवारलाई सम्बन्धित पदमा निर्विरोध निर्वाचित घोषणा गरिएको हो । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा ईश्वरप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी, महिला उपाध्यक्षमा मेनका केसी, उद्योग उपाध्यक्षमा डिल्लीराज खनाल र वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, महासचिवमा सुदिप पाण्डेय, कोषाध्यक्षमा अन्जुल अली, सचिवमा बुद्धिराम भुसाल र सह–कोषाध्यक्षमा अकबर अली निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिले देउखुरी क्षेत्रका उद्योगी, व्यवसायी तथा उद्यमीका समस्या समाधान, लगानीको वातावरण निर्माण र व्यापार व्यवसायको विकासमा भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सफल व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा किराना व्यवसाय सञ्चालन गर्दै आउनुभएका मन्साराम चौधरी, एकल महिला भएर कपडा पसल सञ्चालन गर्दै आउनुभएकी हिरा अधिकारी र निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था रहेका छन् ।
हिरा अधिकारीलाई एकल महिलाका रूपमा जीवनका चुनौती सामना गर्दै व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न सफल भएको योगदानका लागि सम्मान गरिएको हो । उहाँका श्रीमान् को वि.सं. २०६९ सालमा कालाकाँटेमा भएको सडक दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि पनि उहाँले व्यवसायलाई निरन्तरता दिँदै आफ्नो जीवनयापनसँगै उद्यमशीलताको उदाहरण प्रस्तुत गर्दै आउनुभएको बताइएको छ । त्यस्तै, निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मान कार्यक्रमले स्थानीय स्तरमा उद्यम, व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय व्यक्ति र संस्थालाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले उद्योगी तथा व्यवसायीहरू स्थानीय अर्थतन्त्रका महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रोशन खनाल, नेपाली कांग्रेसका नगर सभापति सन्तोष बुढाथोकी, नेकपा एमालेका रतनकुमार केसी, संघका पूर्वअध्यक्ष लिलाराम खनाल, खगेश्वर खनाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले देउखुरी क्षेत्रको आर्थिक विकास, उद्योग तथा व्यापारको विस्तार, व्यवसायीका समस्या समाधान र संघको संस्थागत सुदृढीकरणमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । उनीहरूले निजी क्षेत्रको विकासबिना स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्न कठिन हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएको थियो । पद हस्तान्तरण तथा शपथग्रहणसँगै देउखुरी उद्योग वाणिज्य संघले नयाँ नेतृत्व प्राप्त गरेको छ । निर्विरोध निर्वाचित कार्यसमितिले उद्योगी तथा व्यवसायीहरूको साझा हितमा काम गर्दै देउखुरी क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


