देउखुरीमा माटोले पुरिँदा १५ वर्षीय बालकको मृत्यु
घरसञ्चार
दाङ । देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १५ वर्षीय एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्रयाक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएका हुन ।
प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुई जना बालक ट्र्याक्टरसँगै माटो लिन गएका थिए । सोही क्रममा एक्कासि माटोको ढिस्को खस्दा एक बालक पुरिएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।






