गढवामा यही असार ५ गतेदेखि रमाइलो मेला – कृषि, पर्यटन, उद्योग र व्यापार प्रवर्द्धनमा केन्द्रित
घरसञ्चार
गढवा, दाङ । गढवा गाउँपालिकाको संरक्षण तथा गढवा युवा क्लबको आयोजनामा “गढवा रमाइलो मेला-२०८३” आगामी असार ५ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।
“कृषि, पर्यटन, उद्योग र व्यापार, राष्ट्र समृद्धिको आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाले स्थानीय कृषि उत्पादन, व्यापार-व्यवसाय, घरेलु उद्योग तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । मेलामा स्थानीय कृषक, उद्यमी तथा व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन र बिक्री गर्न पाउनेछन् । कृषि प्रविधि, स्थानीय उत्पादन, हस्तकला, घरेलु उद्योगका सामग्री तथा विभिन्न व्यवसायिक स्टलहरू रहने आयोजकले जनाएको छ । मेलाले स्थानीय उत्पादनको बजारीकरण, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि चलायमान बनाउन टेवा पुग्ने विश्वास गरिएको छ ।
मेलामा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । गायिका ज्योति मगर, गंगु क्षेत्री, प्रीति पासवान, प्रिति आले, एन्जिला रेग्मी, सृजना खत्री, अन्जु कुश्मी र सोनु कुश्मीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । त्यसैगरी गायक रमेशराज भट्टराई, चक्र बम, श्याम राना, कमल बि.सी., विजय चौधरी, भुलन गुप्ता, राजेन्द्र चौधरी तथा राज कुश्मीको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलामा गायक समेत रहेका अनुप बुढा मगर, हरि थापा र सिधान्त केसी उद्घोषकको भुमिकामा रहनेछन् । मेलामा गढवा डान्स आइडलको समेत प्रस्तुती रहनेछ । जसले स्थानीय प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्नेछ । यस्तै विभिन्न सांस्कृतिक कार्यक्रम, लोकनृत्य, झाँकी प्रदर्शन, बाल उद्यान, मनोरञ्जनात्मक खेल तथा पिङ-झुला लगायतका आकर्षणहरू पनि रहनेछन् ।
मेला व्यवस्थापक विनोद बुढाथोकीले मेलाको सम्पूर्ण तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिँदै मेला केवल मनोरञ्जनमा सीमित नभई कृषि, व्यापार, पर्यटन र उद्योग क्षेत्रको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा स्थापित हुने बताए । उनले स्थानीय व्यवसायी, कृषक, उद्योगी तथा सर्वसाधारणलाई मेलामा सहभागी भई यसको सफलतामा सहयोग गर्न आग्रह गरे । आयोजकका अनुसार गढवा रमाइलो मेला–२०८३ ले स्थानीय कला, संस्कृति र पहिचानको संरक्षणसँगै कृषि उत्पादनको प्रवर्द्धन, व्यापारिक कारोबार वृद्धि, पर्यटन विकास तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






