स्थापना दिवसको अवसरमा निलसागर सेवाश्रमका दिनदुखीलाई खाना
शिवु खनाल
देउखुरी, ५ जेठ । लमही होटल व्यवसायी समितिले राप्ती गाउँपालिका वडा नं. ८ पिपरीस्थित निलसागर सेवा आश्रमका दिनदुखीहरुलाई खाना खुवाएर आफ्नो ७ औँ स्थापना दिवस मनाएको छ ।
आश्रममा सडक मानव, वृद्ध, अपांग तथा अशक्त व्यक्तिहरूलाई सुरक्षित पालनपोषण गरिएको छ । मंगलवार समितिका सम्पूर्ण पदाधिकारी आश्रममै पुगेर खाना वितरण गरिएको हो । कार्यक्रममा समितिका पदाधिकारी, स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो । निलसागर सेवाश्रमका अध्यक्ष गरिबु चौधरीको अध्यक्षता एवम् लमही होटल व्यवसायी समितिका अध्यक्ष हिमन्त प्रसाद पाण्डे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक सेवासँग जोड्नु अत्यन्तै सकारात्मक कदम भएको बताउनुभयो ।
उहाँले समाजका कमजोर तथा असहाय वर्गप्रति सहयोग र सहानुभूति आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले मानवता र सामाजिक एकताको सन्देश दिने बताउनुभयो । हामीले व्यवसाय मात्र होइन, समाजप्रतिको दायित्व पनि बुझ्नुपर्छ, पाण्डेले भन्नुभयो,–। यस्ता सामाजिक सहयोगमूलक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने काम गर्दछ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ ।
कार्यक्रममा सेवाश्रममा आश्रित व्यक्तिहरूलाई पोषणयुक्त तथा सन्तुलित भोजन वितरण गरिएको थियो । यस्ता कार्यक्रमले आश्रितहरूको दैनिक जीवनमा केही राहत पुग्नुका साथै समाजमा सेवा भावको भावना अभिवृद्धि हुने विश्वास लिइएको छ । कार्यक्रमको सहजिकरण समितिका सचिव राजेन्द्र पाण्डेले गर्नुभएको थियो ।।






