राप्तीमा सरसफाई सप्ताह सुरु,“सरसफाइलाई संस्कारका रूपमा विकास गर्नुपर्छ” : अध्यक्ष विष्ट

तुल बहादुर कँवर मगर

दाङ । दाङको राप्ती गाउँपालिकामा “स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण” निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय सरसफाइ सप्ताह शुक्रबारदेखि शुभारम्भका गरिएको छ ।

शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहभागीहरूलाई सरसफाइसम्बन्धी शपथ ग्रहण गराउँदै गाउँपालिका परिसरदेखि प्रदेश गेटसम्म राजमार्गको दुवैतर्फ सरसफाइ गरिएको थियो । यससँगै “एक विद्यार्थी, एक बिरुवा” अभियानको समेत शुभारम्भ गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो ।
कार्यक्रमका क्रममा ८५ वर्षीय ज्येष्ठ नागरिक लक्ष्मनिया चौधरीको हातबाट गाउँपालिका परिसरमा आँपको बिरुवा रोपिएको थियो ।

सप्ताहअन्तर्गत जेठ ४ र ५ गते प्लास्टिक संकलन अभियान, बजार क्षेत्र सरसफाइ तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने भएको छ । साथै विद्यालय परिसर तथा कक्षाकोठा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिने सरसफाइ शाखा प्रमुख गीता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ ६, ७ र ८ गते नदी, ताल, खोलानाला, मन्दिर तथा सार्वजनिक स्थलहरूको सरसफाइसँगै गाउँघर तथा टोलबस्ती सरसफाइ कार्यक्रम सञ्चालन गरिने छ । अभियानमा राजनीतिक दल, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, युवाक्लब, सुरक्षा निकाय, समाजसेवी, सञ्चारकर्मी, आमा समूहलगायत विभिन्न संघसंस्थाको सहभागिता रहने जनाइएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सरसफाइलाई केवल अभियानका रूपमा नभई संस्कार र दैनिक व्यवहारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले स्वच्छ र स्वस्थ राप्ती निर्माणका लागि सबै नागरिकको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले स्वच्छ वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै सरसफाइ अभियानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सरसफाइ सप्ताहलाई प्रभावकारी र परिणाममुखी बनाउन सबै शाखा, वडा तथा सरोकारवाला निकायबीच समन्वयात्मक ढंगले कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । गाउँपालिकाले राष्ट्रिय सरसफाइ सप्ताहले “स्वच्छ र समृद्ध राप्ती” निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *