बाल विकास सहयोगी कार्यकर्ताको क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम सुरु
प्रिया स्मृती गजमेर
देउखुरी । लमही नगरपालिका अन्तर्गत नगरस्तरीय बाल विकास सहयोगी कार्यकर्ताहरूका लागि सामग्री खरिद, शैक्षिक सामग्री निर्माण तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम आजदेखि लमहीको कोलहीमा सुरु भएको छ । प्रारम्भिक बाल शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक तथा बालमैत्री बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख केशव लम्सालले जानकारी दिनुभयो ।
तालिममा नगरभित्रका विभिन्न सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताहरूको सहभागिता रहेको छ । सहभागीहरूलाई बालबालिकाको उमेर र आवश्यकता अनुसार उपयुक्त शैक्षिक सामग्री छनोट गर्ने, सामग्रीको प्रभावकारी प्रयोग गर्ने, स्थानीय स्रोत-साधनको उपयोग गरी शिक्षण सामग्री निर्माण गर्ने तरिका तथा बालमैत्री सिकाइ वातावरण निर्माणका विषयमा प्रशिक्षण दिइने शिक्षा शाखा प्रमुख लम्सालले बताउनुभयो ।
प्रारम्भिक बाल शिक्षाको गुणस्तर अभिवृद्धिमा बाल विकास सहयोगी कार्यकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै उहाँले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक विकासको आधार प्रारम्भिक शिक्षाबाट नै सुरु हुने भएकाले यस क्षेत्रमा दक्ष र सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउनुभयो । तालिमको सफलताको शुभकामना मन्तव्य राख्दै गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख उमेश कुमार खड्काले बालबालिकाको सिकाइलाई आकर्षक, सहज र प्रभावकारी बनाउन शैक्षिक सामग्रीको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न आग्रह गर्दै सीमित स्रोतसाधनका बाबजुद सिर्जनशील ढंगले सामग्री निर्माण गरी बालबालिकालाई सिकाइप्रति आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा बालमैत्री शिक्षण विधि, बाल मनोविज्ञान, प्रारम्भिक बाल शिक्षाको महत्व, बालबालिकाको व्यवहार व्यवस्थापन, सिर्जनात्मक सिकाइ प्रक्रिया, खेल्दै सिक्ने विधि तथा कक्षाकोठालाई आकर्षक बनाउने उपायलगायतका विषय समेटिएका छन् । सहायक शिक्षा अधिकृत अम्बिका शर्माका अनुसार सहभागीहरूलाई व्यवहारिक अभ्यासमार्फत विभिन्न शैक्षिक सामग्री निर्माण गर्ने अवसर समेत प्रदान गरिनेछ । तालिम अवधिभर सहभागीहरूले समूहगत रूपमा शिक्षण सामग्री तयार गर्ने, अनुभव आदानप्रदान गर्ने तथा बालबालिकाको सिकाइ उपलब्धिलाई अझ प्रभावकारी बनाउने उपायबारे छलफल गर्ने कार्यक्रम रहेको छ । प्रारम्भिक बाल शिक्षालाई गुणस्तरीय बनाउन नगरपालिकाले यस्ता तालिमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरूको क्षमता अभिवृद्धिसँगै बालबालिकाले प्राप्त गर्ने शिक्षाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूले सिकेका ज्ञान, सीप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै बाल विकास केन्द्रलाई अझ व्यवस्थित, सुरक्षित तथा बालमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । उक्त तालिममा ३९ जना बाल विकास सहयोगी कार्यकर्ताहरूको सहभागिता रहेको छ । तालिममा मन्टेश्वरी प्रशिक्षक विन्दु अर्याल र नितु श्रेष्ठले सहजीकरण गरिरहनुभएको छ ।






