अमिलिया प्रहरीको सार्बजनिक सुनुवाई : ऐलानी जग्गा, नदीजन्य पदार्थ र महिला हिंसामा चासो
घरसञ्चार
दाङ । ईलाका प्रहरी कार्यालय अमिलियाको आयोजनामा समुदायस्तरमा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा ऐलानी जग्गा, नदीजन्य पदार्थको चोरी निकासी र महिला हिंसा जस्ता विषयमा सहभागीहरूले गम्भीर चासो व्यक्त गरेका छन्
।
अमिलियाका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरी प्रमुख आतिथ्यतामा सार्बजनिक सुनुवाई कार्यक्रम भएको हो ।
अन्तरक्रियामा स्थानीयबासीहरूले खुला रूपमा आफ्ना गुनासा तथा जिज्ञासा राखेका थिए । ऐलानी जग्गासम्बन्धी समस्या उठाउँदै वक्ताहरूले जग्गाको स्वामित्व, प्रयोग र नापी प्रक्रियामा अन्योल रहेको बताएका थिए । त्यस्तै नदीजन्य पदार्थ—विशेषगरी बालुवा, गिट्टी लगायतको अवैध उत्खनन र चोरी निकासी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको थियो । महिला हिंसाका घटनाहरू अझै नियन्त्रणमा आउन नसकेको भन्दै प्रभावकारी कदम चाल्न आग्रह गरिएको थियो ।
फ्लोर ओपन सत्रमा हुर्मत गिरी, मिना गुरुङ, आशिष देवकोटा, अन्तराम चौधरी लगायतले प्रहरीको कार्यसम्पादनप्रति प्रश्न उठाउँदै शान्ति सुरक्षामा थप सक्रियता आवश्यक रहेको धारणा राखे । उनीहरूले प्रहरीको उपस्थितिलाई अझ प्रभावकारी र जनमैत्री बनाउन सुझाव दिएका थिए ।

प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले उठेका प्रश्नहरूको जवाफ दिँदै पछिल्लो समय अपराध नियन्त्रण, गस्ती परिचालन, जनचेतनामूलक कार्यक्रम तथा महिला तथा बालबालिका सुरक्षामा विभिन्न प्रयासहरू गरिएको जानकारी दिए । उनले अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको र स्थानीयको सहयोगबिना पूर्ण सफलता सम्भव नहुने बताए । साथै, महिला हिंसाका घटनामा उजुरी गर्न हिच्किचाउन नहुने र पीडितलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । प्रमुख अतिथि मोहन गिरीले ऐलानी जग्गाको विषयमा बोल्दै नापी भइसकेका जग्गाको हकमा अनावश्यक चिन्ता नगर्न स्थानीयलाई आग्रह गरे । उनले कानुनी प्रक्रिया अनुसार सबै समस्या समाधान हुने विश्वास व्यक्त गर्दै नगरपालिकाले आवश्यक समन्वय गर्ने बताए ।
साथै, नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गर्न स्थानीय तह र प्रहरीबीच सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे । कार्यक्रममा सहभागीहरूले यस्ता अन्तरक्रियाले जनताका समस्या प्रत्यक्ष रूपमा सरोकारवाला निकायसम्म पुर्याउन मद्दत गर्ने भन्दै निरन्तरता दिनुपर्ने बताएका थिए । प्रहरीले पनि समुदायसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रतिबद्धता जनाएको थियो । कार्यक्रमको सहजिकरण प्रहरी सहायक निरीक्षक निरख बहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा सयौँ उपभोक्ताको उपस्थिती थियो । कार्यक्रम लमही नगरपालिका ७ नम्बर वडा कार्यालयमा सम्पन्न भएको हो ।






