अञ्जानमा कसैको जीवन जोगाउन गोरखा स्कुल लमहीमा रक्तदान कार्यक्रम
घरसञ्चार
दाङ, लमही । मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देशलाई आत्मसात गर्दै गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका विद्यार्थी तथा शिक्षकहरुले जीवन बचाउने महान अभियान अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
विद्यालय परिसरमै आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुको उत्साहजनक सहभागिता देखिएको थियो । “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई व्यवहारमै उतार्दै उनीहरुले आफ्नो अमूल्य रगत दान गरेर अन्जानमै कसैको जीवन बचाउने पुण्य कार्य गरेका हुन् । कार्यक्रममा बिद्यालयका प्रिन्सिपल लोकमान रिजालले समाजमा रगतको अभाव भइरहेका बेला यस्ता अभियान अत्यन्तै आवश्यक रहेको बताए । पछिल्लो समय विभिन्न अस्पतालहरुमा रगत अभावका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था समेत आउने गरेकोले यस्तो कार्यले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ । यस्तै विद्यालय तहबाटै सामाजिक उत्तरदायित्वको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरिएको छ ।

रक्तदान कार्यक्रममा सहभागी विद्यार्थीहरुले पनि पहिलो पटक रक्तदान गर्दा गर्व र सन्तुष्टिको अनुभूति भएको प्रतिक्रिया दिएका थिए । “हामीले दिएको थोपा–थोपा रगतले कसैको जीवन बाँच्न सक्छ भन्ने सोचले अझ उत्साहित बनाएको छ,” एक विद्यार्थीले भने ।
स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका अनुसार रगतको अभाव अझै पनि चुनौतीकै रुपमा रहेको छ, र यस्ता विद्यालयस्तरीय कार्यक्रमहरुले समाजमा सकारात्मक सन्देश फैलाउने काम गर्छन् । विद्यालयमा आयोजना गरिएका यस्ता शिविरहरुले विद्यार्थीमा सामाजिक सेवा, सहानुभूति र जिम्मेवारीको भावना विकास गर्ने विश्वास गरिएको छ । कार्यक्रमले “मानवता बचाऔं, जीवन बचाऔं” भन्ने सन्देश प्रवाह गर्दै समाजमा रक्तदानप्रति जागरूकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।





