प्रजनन स्वास्थ्य शिविरले लमहीका महिलामा बढायो सचेतना र पहुँच

घरसञ्चार

देउखुरी, २५ चैत । लमही नगरपालिकाको आयोजना तथा केयर सिटी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रजनन स्वास्थ्यसम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरले स्थानीय महिलाहरूमा सकारात्मक प्रभाव पार्न थालेको छ ।

लमही नगरपालिका २ स्थित सोनपुर स्वास्थ्य चौकीमा जारी यस शिविरले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । शिविरमार्फत महिलाहरूले प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरूको समयमै पहिचान, परामर्श तथा उपचार सेवा पाइरहेका छन् । सामान्यतया लाज, डर वा पर्याप्त जानकारीको अभावका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने महिलाहरूका लागि यस्तो कार्यक्रम निकै प्रभावकारी बनेको स्थानीय सुकमतिदेवी चौधरीले बताउनुभयो । “यसले मलगायत अन्य गृहिणी महिलाहरूमा आफ्नै स्वास्थ्यप्रति सजग बन्ने बानीको विकास गराएको छ,” उहाँले भन्नुभयो ।

स्थानीय तहमै विशेषज्ञ सेवा उपलब्ध हुँदा महिलाहरूको स्वास्थ्य जाँच गराउने दर उल्लेखनीय रूपमा बढेको छ । साथै रोगको प्रारम्भिक अवस्थामै पहिचान र उपचार सम्भव भएकाले दीर्घकालीन जटिलता कम गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माका अनुसार यसअघि लमही नगरपालिका ८ स्थित सतबरिया स्वास्थ्य चौकीमा सम्पन्न यस्तै शिविरमा ३ सय २७ महिला र ५४ जना बालबालिका गरी कुल ३ सय ८१ जनाले सेवा लिएका थिए। उक्त तथ्यांकले समुदायमा यस्ता कार्यक्रमप्रति आकर्षण र आवश्यकता दुवै रहेको स्पष्ट पार्दछ ।

यसैबीच लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले महिलाहरूलाई समयमै स्वास्थ्य जाँच गराउन विशेष आग्रह गर्नुभएको छ । उहाँले प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या लुकाएर वा बेवास्ता गरेर बस्दा भविष्यमा जटिल रोग निम्तिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण अत्यन्त आवश्यक रहेको बताउनुभयो । “रोग लागेपछि मात्रै अस्पताल धाउने होइन, रोग लाग्न नदिन र सुरुवाती अवस्थामै पत्ता लगाउन नियमित जाँच गराउनु जरुरी छ,” उहाँले भन्नुभयो ।

नगर प्रमुख चौधरीले यस्ता शिविरहरूमा निःशुल्क तथा विशेषज्ञ सेवा उपलब्ध भइरहेकाले सबैले यसको अधिकतम लाभ लिन आग्रह गर्दै स्वास्थ्यप्रति सजग रहन र आवश्यक परेमा ढिला नगरी उपचार गर्न सबैलाई अनुरोध गर्नुभयो । आगामी दिनमा पनि नगरपालिकाले यस्ता स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्ता स्वास्थ्य शिविरहरूले महिलाहरूमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ । स्थानीय महिलाहरूको सक्रिय सहभागिताले आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी र उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *