नेपाल-भारत होली मिलन कार्यक्रम सम्पन्न‘दुई देशबिचको मित्रता अझ सुदृढ हुने विश्वास’
शिवु खनाल
भारत (तुलसिपुर) १ चैत्र । भारत-नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरका जिला संचालक अभिमन्यु जीले नेपाल-भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र नभई संस्कार, संस्कृति र भावनाले जोडिएको बताए ।
उनले होली मिलन जस्ता कार्यक्रमले हाम्रो मित्रतालाई अझ बलियो बनाएर लैजाने बताउँदै, होली जस्ता सांस्कृतिक पर्वले नेपाल–भारतबीचको सम्बन्धलाई अझ गाढा बनाउने बताए । उनले यस्ता कार्यक्रमले दुई देशका नागरिकबीचको आपसी समझदारी, मित्रता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । नेपाल–भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । शनिबार भारत–नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरले मधुरिमा इन देविपाटन तुलसीपुरमा आयोजना गरेको होली मिलन एवम् सांस्कृतिक समारोह कार्यक्रममा सहभागी दुबै देशका समाजसेवी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले एकअर्कालाई टीका तथा फूलमाला लगाएर होली पर्वको शुभकामना आदानप्रदान गरेका थिए । साथै नेपाली–भारतीय समुदायबीचको मित्रता, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा समेत छलफल गरिएको थियो । त्यसैगरी कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढंगबाट अघि बढिरहेको बताउनु भएको छ । शनिबार भारत–नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरले मधुरिमा इन देविपाटन तुलसीपुरमा आयोजना गरेको होली मिलन एवम् सांस्कृतिक समारोह कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्याउन जरूरी रहेको बताए ।
उनले नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्त घनिष्ठ रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले भने,–। ‘नेपाल–भारतबीचको सम्बन्ध केवल छिमेकी मात्र होइन, संस्कृति, धर्म र परम्पराले जोडिएको सम्बन्ध हो । होली जस्ता साझा पर्वले हाम्रो मित्रता अझ गहिरो बनाउँछ ।’ ‘यस्ता सांस्कृतिक कार्यक्रमले दुवै देशका जनताबीचको सद्भाव, भाइचारा र सहयोगलाई अझ बलियो बनाउँछ । आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्छ ।’ कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका बरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलले नेपाल–भारतबीचको मित्रता सदैव सुदृढ रहोस् भन्ने कामना गर्दै होली पर्वले सबैमा खुशी, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै देउखुरी उद्योग बाणिज्य संघ लमहीका महिला उपाध्यक्ष शारदा सुबेदीले नेपाल–भारत दुवै देशमा यो पर्व विशेष उत्साहका साथ मनाइने भएकाले यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । होली पर्वलाई आपसी सद्भाव, प्रेम र एकताको प्रतीकका रूपमा मनाइँदै आएको छ ।
‘नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुव्र्यवहारका घटना बढे’
नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुव्र्यवहारका घटना बढ्दा दुई देशका नागरिकबीचको सम्बन्धमा दरार पैदा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरूले सीमा समस्या वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा पनि जोड दिएका छन् । शनिबार भारत–नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरले मधुरिमा इन देविपाटन तुलसीपुरमा आयोजना गरेको होली मिलन एवम् सांस्कृतिक समारोह कार्यक्रममा बोल्दै सहभागीहरुले सो धारणा राखेका हुन् । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले पछिल्लो समय चेकजाँचको नाममा कोइलाबास सीमा नाकामा सर्वसाधारणलाई दुबै देशका सुरक्षाकर्मीबाट दुव्र्यवहारका घटना बढेको बताए । चेकजाँचको नाममा दुई देशका नागरिकमाथि हुने अनुचित घटनाहरुले धार्मिक, सांस्कृतिक एवं आर्थिक सम्बन्ध चिसिँदै गएको उनले बताए ।
‘खुल्ला सीमाले हुने तस्करी, लागूऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले चाहे नियन्त्रण गर्न सक्छन् । तर त्यता तिरभन्दा सर्वसाधारणलाई दुःख दिने नियत देखिन्छ, उनले भने,–। ‘यस्ता कार्यले दुबै देशको सदियौंको रोटीबेटी सम्बन्धमा दरार पैदा भइरहेको छ । भारत–नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरका जिला प्रचारक जितेन्द्र जीले सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला रुपमै वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले खुल्ला सीमा व्यवस्थापनका लागि अभियान चलाउनुपर्ने बताए ।
सीमा सुदृढीकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यवहारले धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धमा थप तिक्तता बढ्ने उहाँको भनाइ छ । कार्यक्रमा देउखुरी उद्योग बाणिज्य संघ लमहीका महासचिव हरीबहादुर थापाले सीमा सम्बन्धी नीति र कानुनमा सुधार आवश्यक रहेको बताए । उनले दुबै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनीकरण गर्दै सुमधुर सम्बन्ध अनुकुल बनाउनु पर्ने धारण राख्नुभयो । दुबै देशबाट अपराध न्युनीकरणका लागि सीमा व्यवस्थापनको विषयमा थप मन्थन आवश्यक्ता रहेको कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।।





