देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बृहत् सरसफाई, मैदानको रूप फेरियो

टेकबहादुर पुन

देउखुरी । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बृहत् सरसफाई गरिएको छ ।

लामो समयदेखि झार-जंगलले ढाकिँदै जाँदा अस्तव्यस्त देखिएको क्रिकेट मैदान सरसफाईपछि पुनः सुन्दर र आकर्षक बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिका लागि महत्वपूर्ण मानिने उक्त रंगशालालाई सफा, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यले बृहत् सरसफाई कार्यक्रम आयोजना गरिएको हो । सरसफाई कार्यक्रममा वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी बेस क्याम्प अर्जुनखोला, लमही चेम्बर अफ कमर्स, देउखुरी उद्योग वाणिज्य संघ, रातोडाँडा,लमही टोल विकास संस्था, जेन-जी समूह, देउखुरी क्रिकेट क्लब, द ब्रिफ गोरखा ट्रेनिङ सेन्टर, कर्मचारी, जनप्रतिनिधि, क्रिकेट संघ दाङ, क्रिकेटप्रेमी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । विभिन्न संघसंस्था तथा सुरक्षाकर्मीको संयुक्त सहभागिताले सरसफाई अभियान प्रभावकारी बनेको थियो ।

कार्यक्रमअघि मैदान वरिपरि झार बढेर मैदान ‘कुरूप’ देखिन थालेको स्थानीयको गुनासो थियो । मैदानको पिच क्षेत्र, दर्शक बस्ने स्थान, प्रवेशद्वार तथा वरिपरिका खुला क्षेत्र झार-जंगलले ढाकिँदा खेल अभ्यास र प्रतियोगिता सञ्चालनमा समेत कठिनाइ भइरहेको थियो । तर बृहत् सरसफाईपछि मैदानको समग्र दृश्य फेरिएको छ । हरियाली घाँस, खुला स्थान र सफा वातावरणले क्रिकेट रंगशालाको सौन्दर्य झनै बढेको छ । सरसफाई कार्यक्रममा सहभागी नगरप्रमुख जोगराज चौधरीले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लुम्बिनी प्रदेशकै गौरवको आयोजना भएको उल्लेख गर्दै यसको संरक्षण र व्यवस्थापन सबैको साझा दायित्व भएको बताए । “यो मैदानमा नेशनल स्तरिय पिएम कप जस्ता ठूला प्रतियोगिता भइसकेका छन्, राष्ट्रिय टिमका खेलाडीले समेत खेलिसकेको इतिहास बोकेको मैदान हो,” उनले भने, “यस्तो महत्वपूर्ण संरचनालाई बेवास्ता गर्नु हुँदैन । नियमित सरसफाई, संरक्षण र व्यवस्थापनमार्फत यसलाई अझै उत्कृष्ट बनाइनेछ ।”

उपप्रमुख लक्ष्मी योगीले खेलकुदले युवालाई सकारात्मक दिशामा अघि बढाउने बताउँदै खेल पूर्वाधारको सरसफाई र संरक्षणले मात्रै दीर्घकालीन फाइदा दिने धारणा राखिन् । “क्रिकेट रंगशाला केवल खेल्ने ठाउँ मात्र होइन, यो युवाको सपना र सम्भावनासँग जोडिएको स्थान हो,” उनले भनिन्, “स्थानीय सरकार, संघसंस्था र नागरिक सबै मिलेर यसको संरक्षण गर्नुपर्छ ।” प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले सरसफाई अभियानलाई नियमित गतिविधिका रूपमा अघि बढाइने र रंगशालाको व्यवस्थापन सुधार गर्न आवश्यक योजना तयार भइरहेको बताए । “खेलकुद पूर्वाधारमा लगानी गर्नु भनेको युवाको भविष्यमा लगानी गर्नु हो,” डाँगीले भने ।

सरसफाई कार्यक्रममा दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर कुमार घर्ती मगरले यस्ता अभियानले सामाजिक एकता र जिम्मेवारीको भावना बढाउने बताएका छन् । उनले मैदान सफा भएपछि अभ्यास र प्रतियोगिता सञ्चालनमा सहज हुने बताउँदै क्रिकेटप्रेमीहरूले पनि मैदानको सौन्दर्य फर्किएकोमा खुसी व्यक्त गरेका छन् ।
स्थानीयवासीका अनुसार देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले दाङ मात्र नभई समग्र लुम्बिनी प्रदेशको खेलकुद पहिचान बोकेको छ । देउखुरी क्रिकेट क्लबका उपाध्यक्ष प्रकाश जिसीले यहाँ राष्ट्रियस्तरका प्रतियोगिता सम्पन्न हुनुका साथै राष्ट्रिय टिमका खेलाडीले खेलिसकेको हुँदा यसको महत्व झनै बढेको बताए । त्यसैले मैदानको नियमित सरसफाई, मर्मतसम्भार र दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

बृहत् सरसफाई अभियानले खेलकुद पूर्वाधार संरक्षणमा सकारात्मक सन्देश दिएको छ । लामो समयपछि मैदानले सुन्दर रूप लिँदा स्थानीय खेलप्रेमी उत्साहित देखिएका छन् । आगामी दिनमा यस्ता अभियान निरन्तर सञ्चालन भए देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अझ व्यवस्थित आकर्षक र खेलमैत्री बन्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *