३५ करोड बढि लगानीमा लमहीमा खानेपानीको ओभरहेड ट्याँकी निर्माण हुँदै

टेकबहादुर पुन

लमही । लमही नगरवासीलाई दीर्घकालीन रुपमा सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले लमहीमा खानेपानीको ओभरहेड ट्याँकी निर्माण कार्य शुरु गरिएको छ । सो आयोजनाको शिलान्यास बिहीबार एक विशेष समारोहबीच विधिवत रूपमा सम्पन्न भएको हो ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनम कुमार पौडेल र लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले संयुक्त रुपमा ओभरहेड ट्याँकी निर्माण कार्यको शिलान्यास गरेका हुन । लामो समयदेखि लमही क्षेत्रमा खानेपानीको दिगो समाधान आवश्यक रहेको भन्दै आयोजना शुरु गरिएको छ । ओभरहेड ट्याँकी निर्माण आयोजनाको कुल लागत ३५ करोड ३५ लाख १५ हजार ९ सय ६३ रुपैयाँ ८० पैसा रहेको छ । परियोजना संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्जको ७० प्रतिशत र खानेपानी उपभोक्ता समितिको ३० प्रतिशत सह–लगानीमा सञ्चालन भएको हो ।

आयोजनालाई २०८४ साल असार मसान्तसम्म सम्पन्न गर्नेगरी शुरु भएको लमही खानेपानीले जनाएको छ । निर्माण सम्पन्न भएपछि लमही नगरपालिकाका विभिन्न क्षेत्रका हजारौं उपभोक्ताले सहज, सुरक्षित र नियमित खानेपानी सेवा पाउने अपेक्षा गरिएको छ। स्थानीयवासीले यस आयोजनालाई लमहीको समग्र विकासतर्फको महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् । शिलान्यास कार्यक्रम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनम कुमार पौडेलको अध्यक्षतामा तथा लमही नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्य एबम् ढल व्यवस्थापन विभाग नेपालगञ्जका प्रमुख देवेन्द्र कुमार झा को विशिष्ट आतिथ्यमा शिलन्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यबाट मात्रै यस्ता ठूला आयोजना सफल हुने भन्दै तोकिएको समयमै आयोजना सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । विशिष्ट अतिथि देवेन्द्र कुमार झाले संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमार्फत लमही क्षेत्रका लागि महत्त्वपूर्ण आयोजना अघि बढेको उल्लेख गरे । उनले निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगरी समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । कार्यक्रममा खानेपानी अध्यक्ष सनम कुमार पौडेलले खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भएको उल्लेख गरे । उनले ओभरहेड ट्याँकी निर्माणपछि लमहीका धेरै बस्तीमा पानीको समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा खानेपानी संस्थाका पूर्व अध्यक्ष बिम बहादुर केसी, जंग बहादुर चौधरी, लमही नगरपालिका–५ का वडाध्यक्ष ओम प्रसाद सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका शिवलाल भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका दिल कुमार श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष रतन कुमार केसी तथा रातोडाँडा टोल विकास संस्थाका प्रतिनिधि तारा प्रसाद खनालले मन्तव्य राख्दै आयोजनाको सफलताको कामना गरेका थिए । खानेपानी संस्थाका उपाध्यक्ष शिवा चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण खानेपानी संस्थाका सचिव वसन्त आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *