भिटा परियोजना अन्तर्गत गढवामा किसानलाई बाख्रा हस्तान्तरण

आलोक भावुक

गढवा, २९ कार्तिक । गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनाको निरन्तरतामा आज वडा नम्बर ६ हांसीपुरमा दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

हाँसीपुर उद्यमी महिला समूहको सक्रिय आयोजनामा सम्पन्न भएको कार्यक्रममा महिलाहरूको उद्यमशीलता, पशुपालन क्षमताको विस्तार र आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखि बाख्राहरू लाभग्राही सदस्यहरूलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले महिलाहरूको सक्रियता र परियोजनाबाट आएको सकारात्मक परिवर्तनप्रति खुशी व्यक्त गर्दै भिटा परियोजना गाउँमा आर्थिक रुपान्तरणको आधार बन्दै गएको बताए । कार्यक्रममा बोल्दै उनले भने “दोस्रो पुस्ताका बाख्रा फेरि समुदायमै हस्तान्तरण हुनु आफैंमा दिगो विकासको बलियो संकेत हो ।

महिलाहरू यस्तो मेहनतका साथ उद्यमशीलतामा सक्रिय हुँदा गाउँ आफैँ समृद्ध दिशातिर अघि बढ्छ । यसले आत्मनिर्भरता र साझा जिम्मेवारी दुवैलाई मजबुत बनाउँछ ।” त्यसैगरी भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले परियोजनाले समुदायलाई उद्यमशीलताको बाटोमा अघि बढाएको उल्लेख गर्दै बाख्रा हस्तान्तरण केवल वितरण मात्र नभई जिम्मेवारी र आर्थिक व्यवस्थापन सिकाउने प्रक्रिया भएको बताए । उनका अनुसार “भिटा परियोजनाको मूल लक्ष्य समुदायलाई स्वरोजगार र आत्मनिर्भर बनाउनु हो । दोस्रो पुस्ता हस्तान्तरणले उद्यम चक्रलाई बलियो बनाएको छ, र आगामी दिनमा समूहहरूलाई अझ प्रभावकारी तालिम तथा प्राविधिक समर्थनमार्फत थप सशक्त बनाइनेछ ।”

कार्यक्रममा ६ नं. वडा सदस्यहरू दिनामणी आचार्य, गोबिन्द रोका मगर, सामुदायिक सहजकर्ता तथा उद्यमी महिला समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले दोस्रो पुस्ता बाख्रा हस्तान्तरणले महिलाहरूको आत्मविश्वास बढाएको, पशुपालन व्यवसायमा सहकार्यको वातावरण निर्माण गरेको र परिवारको आर्थिक सुधारमा प्रत्यक्ष योगदान पुगेको अनुभव व्यक्त गरेका थिए । समूहको निरन्तर मेहनत, भिटा परियोजनाको सहकार्य र स्थानीय तहको साथले मानपुर क्षेत्रमा उद्यमशीलताको नयाँ ऊर्जा थपिएको अनुभूति आजको कार्यक्रमले दिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *