भैलोबाट संकलित रकमबाट अति विपन्न र जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग
घरसञ्चार
लमही, दाङ । लमही सांस्कृतिक भैलो समूह लमहीले यस वर्षको भैलो कार्यक्रमबाट संकलित रकम जोगाएर अति बिपन्न, जेष्ठ नागरिक तथा दैनिक बटुवालाई खाद्यान्न सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व र परम्परागत भैलो संस्कृतिलाई जीवित राख्दै मानवता र सहयोगको सन्देश प्रवाह गर्ने उद्देश्यले समूहले तिहारका अवसरमा संकलित रकमलाई समाजका आवश्यकता भएकालाई वितरण गरेको हो । भैलोबाट संकलित रकम स्थानीय स्तरमै उपयोग गर्ने उद्देश्यअन्तर्गत यसपटक तीन घरपरिवारलाई प्रत्यक्ष रूपमा खाद्यान्न सहयोग प्रदान गरिएको समूहले जनाएको छ । सहयोग प्राप्त गर्नेमा शुसिला शर्मा (लमही मिलनटोल), भगवती शर्मा (लमही कोलही) र रामफिया धवन (लमही गोरक्षटोल) रहेका छन् । उनीहरू सबै आर्थिक दृष्टिले कठिन परिस्थितिमा रहेका तथा सहयोग आवश्यक परेको परिवार भएको समूहका अध्यक्ष कुमार घिमिरेले बताए ।

त्यसैगरी, समाजमा सक्रिय रहेको महाकाल समूहलाई समेत खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ । समूहले सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिमा गरेको निरन्तर योगदानको कदर गर्दै भैलो समूहले सहयोग उपलब्ध गराएको हो । समूहले दैनिक बटुवाका लागि छुट्टै खाद्यान्न व्यवस्था पनि गरेको छ, जसले लमही क्षेत्रमा दैनिक यातायात गर्ने, घरबाट टाढा बस्ने वा आकस्मिक परिस्थितिमा परेका व्यक्तिहरूलाई तत्काल राहत दिने उद्देश्य रहेको छ । “भैलो केवल गीत-संगीत र रमाइलो मात्र होइन, समाजका कमजोर र वंचित वर्गलाई साथ दिने संस्कृतिको भाग पनि हो,” भैलो समूहका अध्यक्ष घिमिरेले बताए । उनले यस्ता सामाजिक तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिने समेत प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रमको सहजीकरण वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) ले गरेका थिए । उनले भैलो संस्कृतिलाई सदुपयोग गर्दै समुदायमै रहन-सहन, सहयोग र एकता बढाउने काम भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तो सकारात्मक गतिविधि निरन्तर गर्नुपर्नेमा जोड दिए । लमही सांस्कृतिक भैलो समूहले हरेक वर्ष सामाजिक सेवामा जोड दिँदै आएको छ । परम्परा, संस्कार र मानवीय मूल्यलाई जोडेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्यले गरिएको यसपटकको पहलले स्थानीय समुदायमा प्रशंसा पाएको छ । समुहले शनिवार बनभोज कार्यक्रमको अबसर पारी सहयोग गर्नुका साथै भैलोका क्रममा उत्कृष्ट, लगनशिल युवायुवतीलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।





