राप्तीमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी बैठक सम्पन्न

तुलबहादुर कवँर मगर

भालुबाङ, २७ असोज । दाङको राप्ती गाउँपालिकामा “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सोमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले राप्ती गाउँपालिका अझै पनि कुपोषणको चपेटामा रहेको जनाउँदै सो समस्याको समाधानका लागि पालिका गम्भीर रूपमा लागेको बताए । उनले कुपोषण न्यूनीकरणका लागि खानपानमा सुधार आवश्यक रहेको उल्लेख गर्दै कोदो, फापर जस्ता अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताए ।

त्यस्तै, उनले कम उमेरमा बच्चा जन्माउनु समेत कुपोषणको एक कारण भएकाले यसबारे सचेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिए । अध्यक्ष विष्टका अनुसार पालिकाले कुपोषित बालबालिकाको पहिचान गरी उनीहरूलाई आवश्यक पोषण सहयोग पुर्‍याउने कार्यलाई निरन्तरता दिइरहेको छ । यसका लागि हेलेन केलर, आईडीई, बेसलगायतका संस्थाहरूसँगको सहकार्यमा काम भइरहेको पनि उनले बताए । उनले यस वर्षकाे बजेट जनमुखी र उपलब्धिमूलक कार्यमा खर्च गर्न समेत संस्थालाई सुझाव दिए ।

कार्यक्रमका क्रममा आईडीईका परियोजना अधिकृत सन्तोष कुमार शर्माले नेपालको स्तनपानको अवस्था र बालपोषणसम्बन्धी तथ्याङ्कबारे सहभागीहरूलाई जानकारी गराए । शर्माका अनुसार “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” ले २ हजार दिनको अवधिमा पाँच जीवनरक्षक पोषण कार्यहरू उच्च गुणस्तरमा विस्तार गरी बालकुपोषणका प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । उक्त परियोजना संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यमा लुम्बिनी प्रदेशका चार जिल्लाका ४३ स्थानीय तहमा सञ्चालनमा रहेको जानकारी पनि उनले दिए ।

त्यस्तै, बेस संस्थाका कार्यक्रम संयोजक सुरेश चौधरीले लुम्बिनी प्रदेशमा पोषण अवस्था उच्च जोखिममा रहेको बताउँदै हालसम्म सञ्चालन भएका कामको तथ्याङ्क र प्रगतिबारे जानकारी प्रस्तुत गरे । उनले राप्ती गाउँपालिकामा यस वर्ष सञ्चालन गरिने पोषण सुधारका कार्यक्रमबारे पनि सहभागीहरूलाई जानकारी गराए । छलफल कार्यक्रममा वडाध्यक्षहरू, कृषि तथा पोषण अधिकृत, बेसका प्रतिनिधि तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए । सहभागीहरूले आगामी दिनमा पोषण सुधारका कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय सरकार, समुदाय र विकास साझेदारबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *