गढवामा पोषण तथा खाद्य सुरक्षा समिति र सरोकारवालाबीच छलफल

आलोक भाबुक

गढवा, २५ असोज । पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाअन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा गाउँपालिकाभित्र बढ्दो कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । छलफलमा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिका अझै पनि कुपोषणको चपेटामा रहेको जनाउँदै सो समस्यालाई न्यूनीकरण गर्न पालिका गम्भीर रूपमा लागिपरेको बताए । उनका अनुसार पालिकाले कुपोषित बालबालिकाको पहिचान गरी तिनीहरूलाई आवश्यक पोषण सहयोग पुर्‍याउने कार्यमा निरन्तरता दिइरहेको छ । यसका लागि हेलेन केलर, बेस लगायतका सहकार्य संस्था संगको समन्वयमा एकीकृत डाटा संकलन र डेटाबेस निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

अध्यक्ष पोख्रेलले स्वास्थ्य क्षेत्रमा पालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै रक्तअल्पता (एनिमिया) लगायतका समस्याहरू समाधान गर्न पनि पालिका गम्भीर रूपमा लागेको बताए । उनका अनुसार स्थानीय तहमा सचेतना, पोषण शिक्षा र सेवा विस्तारका माध्यमबाट दीगो सुधार ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालनमा छन् । कार्यक्रमका क्रममा आईडीई प्रोजेक्ट अफिसर सन्तोष कुमार शर्माले नेपालको स्तनपानको अवस्था र बालपोषण सम्बन्धी तथ्याङ्क सार्वजनिक गरे । उनका अनुसार जन्मेपछि पहिलो घण्टाभित्र स्तनपान गराउने दर ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान ५६ प्रतिशत र दुई वर्षसम्म निरन्तर स्तनपान गर्ने दर ९४ प्रतिशत रहेको छ । सो अवसरमा उनले प्रदेशगत रूपमा शून्यदेखि तेइस महिनासम्मका बालबालिकामा दूधदानीबाट दूध खुवाउने दर प्रस्तुत गर्दै कोशीमा २५, मधेशमा ३०, बागमतीमा ४३, गण्डकीमा २७, लुम्बिनीमा २४, कर्णालीमा ११ र सुदूरपश्चिममा १५ प्रतिशत रहेको जानकारी दिए ।

शर्माका अनुसार पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाले २००० दिनको अवधिमा पाँच जीवनरक्षक पोषण कार्यहरू उच्च गुणस्तरमा विस्तार गरी बालकुपोषणको प्रमुख चुनौतीलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ । उक्त परियोजना संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यमा लुम्बिनी प्रदेशका चार जिल्लाका ४३ स्थानीय तहमा सञ्चालनमा रहेको पनि उनले जानकारी दिए । कार्यक्रममा हेलेन केलर संस्थाका फिल्ड अफिसर अनिल केसीले हालसम्मको तथ्याङ्क र प्रगतिबारे जानकारी प्रस्तुत गर्दै गढवामा पोषण सुधारका कार्यक्रमहरू स्थायी रूपमा अघि बढाइरहेको बताए ।

छलफल कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, वडाध्यक्षहरू, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, कृषि तथा पोषण अधिकृत, बेस संस्थाका प्रतिनिधि तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले गरेका थिए । सहभागीहरूले आगामी दिनमा पोषण सुधारका कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय सरकार, समुदाय र विकास साझेदारबीचको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *