गढवामा महिलालाई आत्मनिर्भर बनाउन डल, कुसन तथा गुडिया बनाउने तालिम

आलोक भावुक
गढवा, २२ भदौ । दलित सशक्तिकरण अभियान गढवा–६ को आयोजनामा १५ दिने निःशुल्क डल, कुसन तथा गुडिया बनाउने तालिम सनिवार गढवामा सम्पन्न भएको छ ।

‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सो तालिममा स्थानीय महिलाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरूले डल, कुसन तथा गुडिया बनाउनका लागि आवश्यक सामग्री, प्रविधि र डिजाइन सम्बन्धी विस्तृत ज्ञान हासिल गरेका छन् । देउखुरी क्षेत्रमा डल–कुसन बनाउनका लागि प्रख्यात तथा अनुभवी प्रशिक्षक सीता चौधरीले १५ दिनसम्म निरन्तर प्रशिक्षण दिएका थिए । चौधरीले महिलाहरूलाई साधारण सिलाई–कटाईदेखि लिएर आकर्षक ढंगले उत्पादन गर्ने सीप सिकाउनुभएको जानकारी दिए ।

गढवा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष शान्ती चौधरीले तालिमले दलित महिलाहरूलाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने– “सिप सिकेर महिलाहरूले आफ्नो जीवनस्तर उकास्ने अवसर पाएका छन् । अब यसलाई व्यवहारमा उतारेर स्वरोजगारतर्फ अघि बढ्न सक्नेछन् ।” त्यस्तै, गढवा गाउँपालिका स्तरीय सरकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले महिला सशक्तिकरणमा यस्ता तालिमको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले भने– “समाजमा आर्थिक रुपले सबल हुन महिलाले सीप सिक्नु अत्यावश्यक छ । यसले घर–परिवार मात्र होइन, सम्पूर्ण समाजलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ ।”

तालिममार्फत सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै घरेलु आय–आर्जन गर्ने र परिवारलाई सहयोग गर्ने अपेक्षा लिइएको छ । तालिमपछि उनीहरूले आफैं बनाएका डल, कुसन र गुडियाहरूको प्रदर्शनी समेत गरिएको थियो, जसले उनीहरूलाई थप आत्मविश्वासी बनाएको थियो । दलित सशक्तिकरण अभियान गढवा–६ का पदाधिकारीहरूले तालिमले महिलाहरूलाई स्वरोजगारमा जोड्ने अवसर मिलेको बताउँदै आगामी दिनमा अझै धेरै सीप विकास कार्यक्रम ल्याइने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *