नेपालमा कन्टेन्ट मनिटाइजेसन सुरु, बैंकबाट सजिलै रकम निकाल्न सकिने

घरसञ्चार
काठमाडौँ, १७ भदौ । मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले ईमेलमार्फत प्रयोगकर्तालाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो ।
यसले नेपाली कन्टेन्ट क्रियटरका लागि आम्दानीको नयाँ ढोका खोलेको छ । यस विषयमा प्रविधि क्षेत्रमा सक्रिय राजेन्द्र अर्यालले मेटा टिमसँग सम्पर्क गर्दा कम्पनीले नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको पुष्टि गरेको हो । मेटाले आफ्नो जवाफमा भनेको छ, “हो, नेपाली कन्टेन्ट क्रिएटरले फेसबुकको कन्टेन्ट मनिटाइजेसनबाट प्राप्त हुने रकमका लागि आफ्नो स्थानीय बैंक खाता प्रयोग गर्न सक्छन । किनभने मेटाले यो सुविधा आधिकारिक रूपमा सुरु गरेको छ र नेपाली बैंक खातामा सिधै भुक्तानी पठाउन थालेको छ ।”
यससँगै अब फेसबुकको मनिटाइजेसनका लागि योग्य भएका नेपाली प्रयोगकर्ताले आफ्नो कमाइ सिधै नेपालको बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले आफ्नो पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक खाताको विवरण भर्नुपर्नेछ । “यसअघि पनि केही नेपाली फेसबुक कन्टेन्ट क्रिएटरले विभिन्न माध्यमबाट नेपाली बैंक खाता लिंक गरेर आम्दानी गर्दै आएका थिए । “तर अब कम्पनीले नै औपचारिक रूपमा यो सेवा सुरु गरेपछि प्रक्रिया निकै सजिलो र आधिकारिक भएको छ । अब ढुक्क भएर नेपाली बैंक खाता लिंक गरी आम्दानी गर्न सकिन्छ ।”
कन्टेन्ट मनिटाइजेसनभन्दा अगाडि फेसबुकले सीमित क्षेत्रका क्रियटरलाई तीन ओटा कार्यक्रम अन्तर्गत भुक्तानी दिने गरेको थियो । पहिलो– ‘इनस्ट्रिम एड्स’ । यो भनेको लामो भिडिओमा देखिने विज्ञापन हो । दोस्रो– ‘एड्स अन रिल्स’ । अर्थात् रिल्समा विज्ञापन देखाए वाफत भुक्तानी दिने । र, तेस्रो हो – ‘पर्फमेन्स बोनस । यो भनेको भिडिओ, फोटो र टेक्स्ट पोस्टका आधारमा फेसबुकले बोनस मार्फत पठाउने रकम । ३१ अगस्टदेखि मेटाले इनस्ट्रिम एड्स र एड्स अन रिल्सलाई सधाका लागि विस्थापित गरेको छ । अर्थात् यसअघि सुरु भएका तीन ओटै मनिटाइजेसन कार्यक्रम अब ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’ अन्तर्गत पर्नेछन् ।
कन्टेन्ट मनिटाइजेसनका लागि के छ मापदण्ड ?
मेटाले प्रत्यक्ष रूपमा यो मापदण्ड पूरा गर्ने प्रयोगकर्तालाई कन्टेन्ट मनिटाइजेसनमा राख्ने भन्ने निर्णय गरिसकेको छैन । अहिलेलाई मेटाले योग्य क्रियटरलाई आफैँ छनोट गरिरहेको छ, जसलाई ‘इन्भाइट वन्ली’ भनिएको छ । मेटाबाट यस्तो इन्भिटेसन पाउने क्रियटरले मेटा बिजनेस सुइट र प्रोफेसनल ड्याशबोर्डबाट पेआउट सेटअप गर्न सक्नेछन् । यतिबेलासम्म पनि इन्भिटेसन नपाएका प्रयोगकर्ताले भने यहाँ क्लिक गरेर अनुरोध गर्न सक्नेछन् ।
यसरी कन्टेन्ट मनिटाइजेसनका लागि योग्य क्रियटरले पेआउट सेटअप गर्न सक्छन् । त्यस्तै क्रियटरले पार्नर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पूर्ण रूपमा पालना गरेको हुनुपर्छ । यसरी कुनै पनि नीति उलङ्घन नगरी निरन्तर सञ्चालन गर्दै आइरहेका क्रियटरलाई मेटाले रकम उपलब्ध गराउँछ । क्रियटरले राख्ने भिडिओ, रिल्स, स्टोरी र टेक्स्ट फोटोका आधारमा मेटाले कति रकम दिने भन्ने निर्धारण गर्छ । भिडिओबाट आम्दानी गर्नका लागि भने उक्त भिडिओ कम्तिमा पनि १५ सेकेन्डको हुनुपर्छ ।
कपिराइट लाग्यो, ब्रान्डेड कन्टेन्टमा पर्यो, अयोग्य भाषामा पर्यो, कन्टेन्ट डिलिट भयो, क्रियटरले एड्स डिसेबल गरेको छ, अनाधिकृत तरिकाले इङ्गेजमेन्ट बढाएको छ भने त्यस्ता पेजले रकम कमाउन्ट नसक्ने फेसबुकले स्पष्ट पारेको छ । अरुको कन्टेन्ट राखिएको छ र त्यसमा तेस्रो पक्षले दाबी गरेको छ भने पनि त्यस्तोमा पोस्टबाट हुने आम्दानी तेस्रो पक्षले दाबी गर्न पाउँछ । कन्टेन्ट मनिटाइजेसनका लागि पेज योग्य छ कि छैन भन्ने थाहा पाउन मोबाइलमा फेसबुक पेज खोल्नुहोस् । अनि प्रोफेस्नल ड्याशबोर्डमा जानुहोस् । र, मनिटाइजेसनमा गएर कन्टेन्ट मनिटाइजेसन अप्सन छान्नुहोस् । त्यसपछि टर्म्स एन्ड कन्डिसन एसेप्ट गरेर भुक्तानीको विवरण भरी ‘कम्प्लिट’ सेटअप गर्न सक्नुहुन्छ । कम्प्युटरमा मेटा बिजनेस सुइटमा गएर यही प्रक्रिया अपनाउन सकिन्छ ।