राप्तीमा चाडपर्व लक्षित बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद

तुलबहादुर कवँर मगर
भालुवाङ, १७ भदौ । दाङको राप्ती गाउँपालिकाले मंगलबार गाउँपालिकाका मुख्य बजार क्षेत्रकाे अनुगमन गरेको छ ।
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा गरिएको अनुगमन अन्तर्गत भालुवाङ, पाखापानी, लालमटिया, बिजौरी, पिपरी, सिसहनियाँ र लठ्ठहवा क्षेत्रमा रहेका ३९ वटा पसल अनुगमन गरिएको हो । अनुगमनमा २७ वटा किराना तथा गल्ला पसल, ४ वटा होटल, १ वटा मासु पसल र ७ वटा ठेला व्यवसायी परेका छन् । पछिल्लो समय हैजा, झाडापखाला, डेंगीजस्ता रोग फैलिनुका साथै होटल, मासु पसल, डेरी तथा किराना पसलमा प्रयोग हुने अखाद्य वस्तुले स्वास्थ्यमा असर पुर्याउने र उपभोक्ता ठगिने समस्या देखिएको कारण बजार अनुगमन गरिएको आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए ।

अनुगमनको क्रममा धेरैजसो किराना पसलमा म्याद गुज्रिएका तथा लेबल नभएका सामान फेला परेका छन् । केही पसलमा मूल्यसूची नराखिएको, पालिकामा नवीकरण नगरेको र एउटै व्यापारीले एउटै फर्मको नाममा विभिन्न सामान बिक्री गर्ने गरेको समेत पाइएको छ । त्यसैगरी केही होटलमा खाने तेलको गुणस्तरमा ह्रास, म्याद गुज्रिएका तथा फूड कलर मिसाइएका सामान फेला परेको र सरसफाइको अवस्था कमजोर देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले जानकारी दिए । उनका अनुसार फेला परेका अखाद्य वस्तु नष्ट गरिने र सम्बन्धित व्यवसायीलाई सचेत गराइएको छ ।

अनुगमन टोलीमा गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालयका प्रमुख पदम बराल, खाद्य निरीक्षक सुदर्शन गोसाई, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, इलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँका प्रतिनिधि तथा गाउँपालिका कर्मचारीहरूको सहभागिता रहेको थियो ।