एक महिनामै ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

घरसञ्चार
काठमाण्डौं, १७ भदौ । नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार असार १५ देखि साउन १५ सम्मको एक महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा करिब २२ प्रतिशतले बढी हो ।

भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी करिब ४० प्रतिशत अर्थात ३५ हजारजना भारतीय छन् । त्यसपछि चीनबाट ७ हजार ५ सय ३३,अमेरिका ६ हजार ६८, श्रीलङ्का ५ हजार ९ सय ५६ र बङ्गलादेशबाट ४ हजार २ सय ६२ पर्यटक नेपाल आएका छन् । चालु वर्षको पुसदेखि हालसम्म करिब ७ लाख ३६ हजार ५ सय ६२ पर्यटक नेपाल भित्रिइसकेका छन् । यसैबीच, पर्यटन विभागले हिमाल आरोहणका लागि नयाँ शुल्क संरचना लागू गरेको छ । अब आगामी वसन्त यामदेखि सगरमाथाको दक्षिणपूर्वी नियमित मार्गबाट आरोहण गर्न विदेशी पर्यटकले १५ हजार अमेरिकी डलर तिर्नुपर्नेछ । त्यस्तै, शरद ऋतुमा ७ हजार ५ सय डलर र शिशिर तथा वर्षा ऋतूमा ३ हजार ७ सय ५० डलर लाग्नेछ । अघिल्लो व्यवस्था अनुसार शरदमा ५ हजार ५ सय डलर र शिशिर वर्षामा २ हजार ५ सय डलर मात्र लाग्थ्यो ।

सगरमाथाबाहेक अन्य ८ हजार मिटरभन्दा अग्ला हिमालको हकमा पनि नयाँ शुल्क लागू गरिएको छ । ती हिमालहरूको वसन्त यामको शुल्क ३ हजार डलर, शरद ऋतुमा १ हजार ५ सय डलर र अन्य याममा ७ सय ५० डलर तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *