राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

तुलबहादुर कवँर मगर
भालुवाङ, १५ भदौ । दाङको राप्ती गाउँपालिकाले अब पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पुर्याउने व्यवस्था सुरु गरेको छ । पालिकाले सूचना तथा जानकारीलाई छिटो र प्रभावकारी ढंगले सम्प्रेषण गर्नका लागि ‘नागरिक सूचना प्रणाली’ कार्यान्वयनमा ल्याएको हो ।

यस अन्तर्गत पहिलो चरणमा करिब १० हजार नागरिकका मोबाइल नम्बर संकलन गरी फोनमार्फत सूचना प्रवाह थालिएको छ भने बाँकी नागरिकको सम्पर्क नम्बर पनि क्रमशः संकलन भइरहेको पालिकाले जनाएको छ । सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङका अनुसार यसका लागि नेपाल टेलिकमकाे १० र एनसीएलका १० गरि २० वटा नम्बर प्रयोग गरी एउटै समयमा धेरै जनाको मोबाइलमा फोन पुग्ने व्यवस्था गरिएको छ । फोन गएको बेलामा नागरिकले उठाउनासाथ पालिकाको सूचना सुन्न सक्नेछन ।

यदि फोन नउठाएमा केही समयपछि स्वचालित रूपमा सोही नम्बरमा पुनः कल जाने र एउटै व्यक्तिको नम्बरमा अधिकतम दुई पटकसम्म फोन जाने व्यवस्था गरिएको पनि उनले बताए । गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले यस प्रणालीले पालिकाका सूचना र निर्णयहरू सबै नागरिकसम्म समयमा पुर्याउन सहयोग गर्ने बताए । प्रविधिको सदुपयोगमार्फत पारदर्शिता, उत्तरदायित्व र सेवामा सहजता ल्याउने लक्ष्यका साथ अघि बढिएको उहाँको भनाइ छ । पालिकाले यस प्रणालीबाट पालिकाका निर्णय, सेवा, कार्यक्रम र विभिन्न आवश्यक जानकारी नागरिकलाई सहज र समयमै उपलब्ध हुने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *