अर्जुन माविको तिजमिलन, नयाँ पुस्तामा संस्कार र मौलिकताको बिकाश गर्छ: प्रबक्ता गिरी
घरसञ्चार
देउखुरी । लमही नगरपालिका–७ हसनापुरस्थित अर्जुन माध्यमिक विद्यालयले शुक्रबार एक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक सांस्कृतिक प्रस्तुतिहरूमार्फत तीज पर्वलाई धूमधामका साथ मनाए ।
विद्यालय व्यवस्थापन समिति (बिब्यस) का अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्य एबम् विद्यालयका पूर्वप्रधानाध्यापक नारायण प्रसाद मज्गैँयाको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि मोहन गिरीले विद्यालयले आयोजना गरेको यस्तो सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न ठूलो योगदान गर्ने उल्लेख गरे । उनले तीज पर्व केवल महिलामात्रको चाड नभई परिवार, समाज र संस्कृतिको साझा पर्व भएको भन्दै यस्तो कार्यक्रमले नयाँ पुस्तामा संस्कार र मौलिकता जगेर्नामा मद्दत गर्ने विश्वास व्यक्त गरे । गिरीले विद्यालयले शैक्षिक गतिविधिसँगै सांस्कृतिक कार्यहरूलाई पनि प्राथमिकता दिएकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा विद्यालयको प्रगतिको लागि वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

विद्यालयका प्रधानाध्यापक महेश न्यौपानेले कार्यक्रमबारे प्रकाश पार्दै तीज विशेष कार्यक्रमले विद्यार्थीहरूको सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै परम्परागत पर्वप्रति सम्मान र आस्था जगाउने काम गर्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत र अन्य गतिविधिहरू विद्यालयको शैक्षिक वातावरणसँगै अतिरिक्त क्रियाकलापमा पनि उल्लेखनीय योगदान गर्ने बताए । विशिष्ट अतिथि पूर्वप्रअ नारायण प्रसाद मज्गैँयाले विद्यालयले निरन्तर यस्ता गतिविधि आयोजना गर्नुपर्नेमा जोड दिए । उनले विगतमा विद्यालयसँगको आफ्नो अनुभव स्मरण गर्दै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य नै विद्यालयको प्रगतिको मूल आधार भएको बताए । कार्यक्रममा जिल्लासमन्वय समिती दाङका सदस्य कुलबहादुर बुढा मगरले तीजजस्तो पर्वले महिला सशक्तिकरण, सामाजिक एकता र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले महिलाहरूको सक्रिय सहभागिता बिना समाजको समृद्धि असम्भव हुने उल्लेख गर्दै, यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले सहकार्य, आपसी सद्भाव र भाइचारा अझ प्रगाढ बनाउन मद्दत गर्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरूले तीजको महत्व झल्काउने विभिन्न नृत्य, गीत र सांस्कृतिक प्रस्तुति दिएका थिए । रंगीन पहिरन, हरियो चुरा, रातो पोते र परम्परागत पोशाकमा सजिएका विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्यले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो । बिद्यालयकि शिक्षिका प्रेमा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक लक्ष्मण चौधरीले गरेका थिए । कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सांस्कृतिक ज्ञान र प्रस्तुतीकरण सीप विकास गर्ने मात्र नभई समुदायलाई पनि एकताबद्ध गर्ने कार्य गरेको भन्दै सहभागिहरूले खुसी व्यक्त गरेका थिए ।





