गढवामा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सँगै प्रशिक्षण

घरसञ्चार
दाङ, गढवा । गढवा गाउँपालिका–स्थित सरस्वती विद्यालयमा अध्ययनरत गरिब तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अभावका कारण शिक्षण–अध्ययनमा कठिनाई भोगिरहेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरिएको हो ।
निरासिज फाउण्डेशन नेपाल र एम्नेस्टी इन्टरनेशनलको आयोजनामा तथा काठमाडौं विश्वविद्यालयको प्रोजेक्ट आरम्भ समूहको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने आधारभूत अध्ययन सामग्री हस्तान्तरण गरिएको छ । वितरण गरिएको सामग्रीमा १ थान शब्दकोश पुस्तक, १० वटा कविता सङ्ग्रह, १० वटा सामान्य ज्ञान पुस्तक, २० वटा उपन्यास, २५ डायरी, २५ पेन, चार्ट पेपर, कलर पेन्सिल लगायतका साहित्यिक तथा अध्ययनसँग सम्बन्धित पुस्तक र सामग्री समावेश थिए । शैक्षिक सामग्री वितरणसँगै विद्यालयका विद्यार्थीलाई मानव अधिकार र जलवायु परिवर्तनसम्बन्धी विशेष प्रशिक्षण समेत दिइएको थियो । मानव अधिकार शिक्षा निर्देशक सिजन केसीले प्रशिक्षण दिएका थिए ।

उनले प्रशिक्षणका क्रममा विद्यार्थीलाई बालअधिकार, समानता, वातावरण संरक्षण, जलवायु परिवर्तनका असरहरू र विद्यार्थी स्वयंले गर्ने सक्ने व्यावहारिक गतिविधिहरूबारे जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूले यस्ता सहयोगी गतिविधिहरूले विद्यार्थीको मनोबल बढाउनुका साथै अध्ययनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे । शिक्षकहरूले पनि पुस्तक तथा सामग्रीले विद्यार्थीलाई सिर्जनशीलता, पठन–पाठन र ज्ञानवृद्धिमा सकारात्मक प्रभाव पार्ने बताए ।
निरासिज फाउण्डेशन नेपालका प्रतिनिधिहरूले ग्रामीण भेगका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले शैक्षिक सामग्री मात्र नभई विद्यार्थीको क्षमता विकासका लागि तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम निरन्तर गर्ने योजना रहेको जानकारी पनि दिए । यसअघि पनि निरासिज फाउण्डेशन र एम्नेस्टी इन्टरनेशनलले विभिन्न जिल्लामा यस्तै अभियान सञ्चालन गर्दै आएका छन् । यसरी गरिएको सहयोगले विशेष गरी विपन्न वर्गका विद्यार्थीलाई अध्ययन निरन्तरता दिनमा सहयोग पुर्याउने आयोजकहरूको विश्वास छ ।