पत्रकार महासंघ दाङमा तीज मिलन, कम खर्चिलो बनाउनुपर्नेमा जोड

घरसञ्चार
घोराही, ४ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताए ।
“आजभोलि तीज र अन्य चाडपर्वहरू देखाउनकै लागि मनाउने प्रवृत्ति बढेको छ । यो ठीक होइन । चाडपर्वमा खर्च गर्दा घाँटी हेरेर हाड निल्नुपर्छ । आफ्नो आर्थिक हैसियतअनुसार पर्वलाई रमाइलो बनाउनुपर्छ,” प्रियासनले भने । उनले पर्वलाई आडम्बररहित, सरल र सामाजिक सद्भाव बढाउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य लिला शाहले महिलाहरूका लागि तीजले आत्मबल, उमङ्ग र उत्साह दिने अवसर निर्माण गर्ने बताए । उनले भने, “तीज केवल गीत–नृत्यमा सीमित छैन । यसले हाम्रो संस्कृतिको संरक्षण गर्ने र महिलाबीच आपसी सन्देश प्रवाह गर्ने काम गर्छ । तर यो पर्वलाई व्यावसायिकता र खर्चिलो प्रतिस्पर्धामा जकडिन दिनु हुँदैन ।”
नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पर्वले ल्याउने सामाजिक एकताको पक्षमा जोड दिए । उनले भने, “पर्व भनेको सबै मिलेर मनाउने साझा खुशी हो । यसलाई खर्चिलो बनाउने होइन, सामाजिक सौहार्द र परिवारमा खुसी ल्याउने माध्यम बनाउनुपर्छ । पत्रकार महासङ्घजस्तो संस्था महिला विभागमार्फत यस्तो कार्यक्रम गर्दै संस्कृतिको जगेर्ना गर्न लागेको देख्दा खुसी लागेको छ ।”

नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तीज मिलन जस्ता कार्यक्रमले पत्रकारबीचको आत्मीय सम्बन्ध बलियो हुने बताए । उनले भने, “पत्रकार महासङ्घले केवल पेशागत अधिकारका लागि मात्र होइन, सामाजिक र सांस्कृतिक क्षेत्रको संरक्षणका लागि पनि जिम्मेवारी बहन गर्नुपर्छ । महिला विभागले आयोजना गरेको यो कार्यक्रमले दाङ जिल्लामा महिला पत्रकारहरूको सक्रियता र सहभागिता झल्काउँछ ।” नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेलले तीजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने धारणा राखिन । उनले भनिन्, “तीज महिलाहरूको साझा उत्सव हो । यसमा महिलाहरूले आफ्ना समस्या, सपना र संघर्षलाई गीतमार्फत अभिव्यक्त गर्ने अवसर पाउँछन् । यसलाई केवल भोज, महंगा लुगाफाटा र बाह्य प्रदर्शनमा सीमित पार्दा यसको वास्तविक मूल्य घट्छ ।”
प्रेस सेन्टरकी केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यले तीज जस्ता पर्वले महिला पत्रकारहरूको हौंसला बढाउने बताईन् । उनका अनुसार, “पत्रकार महिलाहरूले पेशागत दायित्वसँगै संस्कृतिको जगेर्नामा पनि सक्रिय हुनुपर्छ । आजको कार्यक्रममा देखिएको उत्साहले आगामी दिनमा महिला विभागलाई अझ सबल बनाउन सहयोग पुग्नेछ ।” क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्यले तीजले वर्गीय र सामाजिक समानता स्थापना गर्न सन्देश दिने बताईन । उनले भनिन्, “तीज केवल एक समूह वा समुदायको पर्व होइन, यो सबै महिलाको साझा पर्व हो । यसले परम्परागत संस्कारसँगै आधुनिक चेतना फैलाउन मद्दत गर्छ । त्यसैले यसलाई सामाजिक रुपान्तरणको अभियानसँग जोड्न सकिन्छ ।”
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुदर्शन रिजाले तीज मिलनजस्ता कार्यक्रमले पत्रकारबीच आपसी सम्बन्ध र समझदारी बलियो हुने धारणा राखे। उनले भने, “पत्रकारहरूले केवल कलम चलाउने मात्र होइन, सामाजिक संस्कृति र परम्परालाई जोगाउने जिम्मेवारी पनि लिनुपर्छ । यस्तो अवसरमा भेटघाट, छलफल र रमाइलो गरेर पेशागत जीवनलाई अझ सशक्त बनाउन सकिन्छ ।” कार्यक्रममा महिला विभाग प्रमुख एवं महासङ्घ दाङ शाखाकी उपाध्यक्ष नारायण रजौरेले अध्यक्षता गरेका थिए । स्वागत मन्तव्य सरिता चौधरीले गर्नुभएको र सञ्चालन रमा नेपालीले गरेकि थिईन । कार्यक्रममा विभिन्न पत्रकार संघ–संगठनका प्रतिनिधिहरू, महिला पत्रकार तथा दाङ जिल्लाका सञ्चारकर्मी हरूको बाक्लो उपस्थिति थियो । सहभागीहरूले तीज गीत गाएर, नाचगान गर्दै र आपसी आत्मीयता बाँडेर कार्यक्रमलाई उत्साहपूर्ण बनाए ।