सुलभ, सहज र गुणस्तरीय सेवा प्रदान गर्नतर्फ लमही अस्पतालको लक्ष्य र यात्रा:अन्तरबार्ता

-लमही अस्पतालका बारेमा सामाजिक सञ्जालमा उठिरहेका विषयहरू, सेवाग्राहीबाट आएका गुनासाहरू तथा अस्पतालले सेवा सुधारका लागि गरिरहेका प्रयासबारे लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीप चौधरीलाई पत्रकार प्रिया स्मृती गजमेरले लमही अस्पतालको वर्तमान अवस्था कस्तो छ ? अहिले कस्ता सेवाहरू सञ्चालनमा छन् ? भनेर प्रश्न गरेका छन् ।

लमही अस्पताल लामो समयसम्म प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालन हुँदै आएको थियो । हाल यो १५ शैयाको अस्पतालका रूपमा सेवा प्रवाह गरिरहेको छ । अस्पतालबाट दैनिक रूपमा ओपीडी सेवा, आकस्मिक सेवा, प्रसुति सेवा, ल्याब सेवा, खोप सेवा लगायतका आधारभूत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । हाम्रो मुख्य प्रयास उपलब्ध स्रोतसाधनभित्र रहेर नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । साथै अस्पतालमा न्युनतम शुल्क लिएर पोस्टमार्टम सेवा प्रदान गर्दै आएका छौं । सुत्केरी महिला तथा ज्येष्ठ नागरिकहरूका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क उपलब्ध गराइएको छ ।

सीमित स्रोतसाधनका बीच सेवा सञ्चालन गर्न कत्तिको चुनौती छ ?

चुनौतीहरू धेरै छन् । जनशक्ति, उपकरण तथा पूर्वाधारको सीमितताका बाबजुद हामीले सेवा निरन्तर सञ्चालन गरिरहेका छौं । कहिलेकाहीँ आवश्यक उपकरणको अभाव वा जनशक्तिको कमीका कारण केही असहज अवस्था सिर्जना हुन सक्छ, तर त्यसलाई व्यवस्थापन गर्दै सेवाग्राहीलाई समस्या नहोस् भन्ने हाम्रो प्राथमिकता हो । देउखुरीका चारवटै पालिकाका साथै छिमेकी जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि लमही अस्पतालमा आउने गर्छन् । सीमित स्रोतसाधनका आधारमा सञ्चालन भइरहेको अस्पतालका लागि यति धेरै बिरामीको चाप व्यवस्थापन गर्नु सहज छैन । तर पनि उपलब्ध साधन र क्षमताभित्र रहेर हामीले सकेसम्म प्रभावकारी सेवा प्रदान गर्दै आएका छौं ।

अस्पतालमा बिरामीको चाप कस्तो छ ? बिरामी वा उनीहरूका आफन्तबाट कस्तो अपेक्षा गर्नु हुन्छ ?

लमही अस्पतालमा प्रायः बिरामीको चाप बढी नै हुने गरेको छ । दैनिक रूपमा करिब सयको हाराहारीमा बिरामीहरू सेवा लिन आउने गरेका छन् । ओपीडी तथा आकस्मिक सेवामा आउने बिरामीको संख्या निरन्तर बढिरहेको छ । यसले अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको देखाउँछ, तर यससँगै सेवा विस्तारको आवश्यकता पनि थपिएको छ । लमही अस्पतालले उपलब्ध गराउँदै आएको सेवाका बारेमा सेवाग्राहीले पनि स्पष्ट रूपमा बुझ्न आवश्यक छ । अस्पतालमा हाल एक जना एमडीजीपी डाक्टरसहित चार जना चिकित्सक कार्यरत हुनुहुन्छ । बिरामी अस्पताल आएपछि स्वास्थ्यकर्मीको सुझाव र उपचार प्रक्रियामाथि विश्वास गर्नु आवश्यक हुन्छ । यदि लमही अस्पतालमा उपचार सम्भव नभएको अवस्था आएमा हामी बिरामीलाई समयमै सुविधा सम्पन्न अन्य अस्पतालमा जान सल्लाह दिने गर्छौं । त्यसैले बिरामीका आफन्तले पनि स्वास्थ्यकर्मीको सुझावलाई विश्वास गरेर सहयोग गरिदिनुहुने अपेक्षा छ ।

सेवा विस्तारका लागि अस्पतालले के पहल गरिरहेको छ ?

सेवा विस्तारका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार व्यवस्थापनमा अझै केही चुनौतीहरू रहेका छन् । यद्यपि, पहिलेको तुलनामा अहिले धेरै समस्याहरू क्रमशः समाधान हुँदै गएका छन् र बाँकी समस्याहरू पनि विस्तारै समाधान हुने विश्वास लिएका छौं । यसका लागि हामी सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल गरिरहेका छौं । अस्पतालमा आवश्यक विशेषज्ञ जनशक्ति थप गर्ने, अत्यावश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्ने तथा सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउने विषयमा स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकारसँग समेत सहकार्य आवश्यक रहेको छ । हाम्रो उद्देश्य आगामी दिनमा नागरिकलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।

लमही अस्पताल मुख्य राजमार्गसँग जोडिएको क्षेत्रमै रहेकाले यहाँ सवारी दुर्घटनाका बिरामीहरू धेरै आउने गर्छन् । त्यस्ता गम्भीर अवस्थाका बिरामीलाई तत्काल उपचार आवश्यक पर्ने भएकाले अस्पतालमा थप सुविधा विस्तार अपरिहार्य देखिन्छ । हालको अवस्थामा केही बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ । यदि लमही अस्पताललाई प्रदेश वा केन्द्र सरकारको विशेष प्राथमिकतामा राखेर प्रदेशस्तरको सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गर्न सकियो भने देउखुरी क्षेत्रका साथै आसपासका जिल्लाका नागरिकहरूले सहज रूपमा गुणस्तरीय उपचार सेवा पाउनेछन् । साथै दुर्घटना तथा जटिल बिरामीहरूलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास हाम्रो छ ।

अन्त्यमा सेवाग्राहीलाई के भन्न चाहनुहुन्छ ?

लमही अस्पतालप्रति विश्वास गरेर सेवा लिन आउनु भएका सम्पूर्ण सेवाग्राही, स्थानीयवासी तथा सरोकारवाला सबैप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सीमित स्रोतसाधन, जनशक्ति र पूर्वाधारका बाबजुद पनि हामीले नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं, र सेवा अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन निरन्तर प्रयास गरिरहेका छौं । कहिलेकाहीँ सेवा प्रवाहका क्रममा केही समस्या, ढिलाइ वा असहजता हुन सक्छन् । यस्ता अवस्थालाई लिएर निराश नहुनुहोस्, बरु आवश्यक सुझाव र रचनात्मक सहयोग दिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु । तपाईंहरूको सुझावले हामीलाई कमजोरी सुधार गर्न र सेवा थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ ।

अस्पतालमा आउने बिरामी तथा आफन्तजनले स्वास्थ्यकर्मीहरूको सल्लाह, उपचार प्रक्रिया र अस्पतालको क्षमतालाई बुझेर सहयोग गरिदिनु पनि आवश्यक छ । हामीले सम्भव भएसम्म यहीँ उपचार सेवा प्रदान गर्ने प्रयास गर्छौं, र आवश्यक परेमा बिरामीको हितलाई ध्यानमा राख्दै सुविधा सम्पन्न अस्पतालमा जान सिफारिस पनि गर्छौं । आगामी दिनमा लमही अस्पताललाई अझ व्यवस्थित, सुविधा सम्पन्न र नागरिकमैत्री स्वास्थ्य संस्था बनाउने हाम्रो लक्ष्य रहेको छ । त्यसका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र आम नागरिक सबैको साथ, सहयोग र विश्वास आवश्यक छ । फेरि पनि अस्पतालप्रति विश्वास देखाउनु भएका सबैमा धन्यवाद व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *