प्रत्येक नागरिकको आवाज सुन्नमा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की
घरसञ्चार
दाङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रत्येक नागरिकको आवाज सुन्ने र पीडितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन ।
बेलायत सरकारको सहयोग तथा युएनओपीएस (UNOPS) को सहकार्यमा निर्माण गरिएको उक्त भवनले विशेषगरी संवेदनशील प्रकृतिका मुद्दाहरूमा पीडितलाई सुरक्षित, सहज र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नयाँ संरचनाले न्यायमा पहुँचलाई सहज बनाउनुका साथै सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले प्रहरी संगठनको प्राथमिकता नागरिकमैत्री सेवा रहेको उल्लेख गर्दै पीडितलाई सम्मानजनक व्यवहारसहित सेवा दिनु नै प्रहरीको मुख्य दायित्व भएको स्पष्ट पारे । “प्रत्येक नागरिकको आवाज सुन्ने प्रहरी संगठन निर्माणमा हामी प्रतिबद्ध छौं,” उनले भने ।

त्यस अवसरमा उनले पछिल्लो समय सामाजिक सञ्जालमा प्रहरीसँग खिचिएको फोटोको दुरुपयोग गरी सर्वसाधारणलाई प्रभाव पार्ने वा डरत्रास सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएकोतर्फ पनि ध्यानाकर्षण गराए । यस्ता गतिविधिले निर्दोष व्यक्तिहरूलाई भ्रममा पार्ने भएकाले सचेत रहन उहाँले सबैलाई आग्रह गरे । साथै, प्रहरी संगठनभित्र पारदर्शिता र जवाफदेहितालाई अझ सुदृढ बनाउँदै कुनै पनि प्रकारको ‘टाठाबाठा’ संस्कृति अन्त्य गरिने उनको भनाइ थियो । करिब २ करोड ६० लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त भवन २८७.२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।
भवनमा भुइँतलामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष, बालमैत्री कक्ष, बैठक कक्ष तथा प्रशासन कक्षको व्यवस्था गरिएको छ । त्यस्तै, पहिलो तल्लामा आवासीय कक्ष, भान्सा तथा भोजन कक्ष र दोस्रो तल्लामा सोलार प्रणालीसहित खुला छतको सुविधा उपलब्ध गराइएको छ । कार्यक्रमका क्रममा भवन निर्माणमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । इलाका प्रहरी कार्यालय गढवाका पूर्व प्रहरी निरीक्षक कालिका कार्की लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । उद्घाटनपछि आईजीपी कार्कीले प्रहरी परिसरमा वृक्षारोपण गर्नुका साथै मन्दिर दर्शन समेत गरेका थिए ।

कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीहरूको दर्ता, अनुसन्धान तथा परामर्श सेवा अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्थानीय स्तरमै यस्ता सेवा विस्तार हुँदा पीडितलाई न्यायमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ ।





