लमही खानेपानीको साधारण सभा, स्रोत संरक्षण र दीर्घकालीन खानेपानी समाधानमा जोड
घरसञ्चार
देउखुरी । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बढ्दो जनसंख्या र तीव्र शहरीकरणका कारण उत्पन्न हुँदै गएको खानेपानी संकटलाई मध्यनजर गर्दै आफ्नो २१ औँ वार्षिक साधारण सभा शनिबार लमहीमा सम्पन्न गरेको छ ।
सँस्थाले पानीको स्रोत संरक्षण र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि अघि बढाएको जनाएको छ । लमही नगरपालिका क्षेत्रभित्र पछिल्ला वर्षहरूमा जनसंख्या उल्लेख्य रूपमा बढेसँगै खानेपानीको माग समेत तीव्र रूपमा बढिरहेको छ । विगतमा राप्ती नदी, अर्जुन खोला, पोखरी तथा राजकुलोहरू लमहीका प्रमुख पानीका स्रोतका रूपमा रहेका थिए । तर, शहर विस्तार र प्राकृतिक स्रोतप्रतिको बढ्दो चापका कारण हाल ती स्रोतहरू कमजोर बन्दै गएका छन् । यसैबीच जमिनमुनिको पानीको अत्यधिक प्रयोग बढ्दै जानुले भविष्यमा गम्भीर खानेपानी संकट निम्त्याउने खतरा बढेको सरोकारवालाहरूले औँल्याउँदै आएका छन् ।

पानीका मुहानको खोजी मात्र गर्दै संरक्षणमा ध्यान नदिइने हो भने लमहीमा एक दिन पानीको हाहाकार हुने अवस्था आउन सक्ने चेतावनी विज्ञहरूद्वारा दिँदै आएको सन्दर्भमा संस्थाले नयाँ खानेपानी आयोजना अघि बढाएको छ । उपभोक्तालाई सुरक्षित, शुद्ध र पर्याप्त खानेपानी उपलब्ध गराउने उद्देश्यसहित साना तथा ठूला खानेपानी आयोजनाहरूलाई निरन्तरता दिइएको संस्थाले जनाएको छ । तीव्र शहरीकरण भइरहेको लमही क्षेत्रमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सह-लगानीमा करिब ३५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको लागतमा खानेपानी आयोजना विस्तारको काम अघि बढाएको सँस्थाले जनाएको छ ।
आयोजना अन्तर्गत ओभरहेड ट्यांकी निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । यसअघि सञ्चालनमा आएको दोस्रो साना शहरी खानेपानी आयोजनाको क्षमता २ हजार ६ सय धारा वितरण गर्ने रहेको थियो । तर, हाल क्षमता भन्दा बढी करिब ६ हजार धारामा पानी वितरण हुँदै आएको छ । माग बढ्दै जाँदा नयाँ आयोजनाको आवश्यकता परेकाले सह-लगानीमा आयोजना विस्तार गरिएको हो । नयाँ आयोजनाबाट चौबीसै घण्टा खानेपानी आपूर्ति गर्ने लक्ष्य सहित काम अघि बढेपछि उपभोक्ताहरू उत्साहित भएका छन् । विशेषगरी हिउँद याममा चर्को खानेपानी समस्या झेल्दै आएको देउखुरी क्षेत्रका बासिन्दाले यस आयोजनाबाट राहत मिल्ने अपेक्षा गरेका छन् ।

कार्यक्रमलाई उद्घाटन गर्दै लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले खानेपानीलाई संविधानले साझा अधिकारका रूपमा व्यवस्था गरेको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख चौधरीले पानीका स्रोत भएका स्थानीय तहहरूले स्रोत संरक्षणमा विशेष ध्यान दिनु अत्यावश्यक रहेको बताए । नगरप्रमुख चौधरीले खानेपानी आयोजना मार्फत लमहीमा पानी ल्याएर व्यवस्थित रूपमा वितरण गर्ने जिम्मेवारीका साथै विद्यमान स्रोतको संरक्षणमा संस्थाले चालेका कदमप्रति सन्तोष व्यक्त गरे ।
साधारण सभामा बोल्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष सनम कुमार पौडेलले लमहीभित्र रहेका पानीका स्रोतहरूको दिगो संरक्षणका लागि गुरुयोजना तयार गरी अघि बढिरहेको जानकारी दिए । उनले अन्यत्रबाट ल्याइने पानीको उचित उपयोग गर्नुका साथै विद्यमान मुहानहरूको संरक्षण र नयाँ मुहानको खोजी तथा उपयोगमा विशेष ध्यान दिइएको बताए । अध्यक्ष पौडेलले संस्थाले हालसम्म गरेका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै आगामी दिनका लक्ष्य र योजनाहरू समेत सार्वजनिक गरे । उनका अनुसार विधान संशोधन, कर्मचारी नियमावली तथा दरबन्दी निर्धारण, खरिद-बिक्री नियमावली, आर्थिक नियमावली, सामाजिक सुरक्षा कोष सञ्चालन, महसुल तालिकामा संशोधन, धारा जडान शुल्क पुनरावलोकन, अध्ययन तथा अवलोकन भ्रमण र सरसफाईसम्बन्धी कार्यक्रमहरू आगामी प्राथमिकतामा रहेका छन् । साथै, हाल निर्माणाधीन खानेपानी आयोजनाको प्रगति विवरणसमेत साधारण सभामा प्रस्तुत गरिएको थियो ।

संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारीले आर्थिक वर्ष २०८१/०८२ को आय-व्यय विवरण प्रस्तुत गर्दै कुल ७ करोड ४४ लाख ६५ हजार ८ सय २८ रुपैयाँ ८५ पैसाको बजेट सार्वजनिक गरे । चालु आर्थिक वर्षमा हालसम्म आयतर्फ ३ करोड ९९ लाख ७८ हजार ७ सय ९१ रुपैयाँ र व्ययतर्फ २ करोड ७५ लाख ६१ हजार ४६ रुपैयाँ खर्च भएको जानकारी गराइएको थियो । वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव बसन्त आचार्यले प्रस्तुत गर्दै नयाँ आयोजनाबाट आउने पानीलाई व्यवस्थित रूपमा वितरण गर्न उप-समिति गठन गरी अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए । कुन क्षेत्रमा कति पानी आवश्यक छ र वितरण प्रणाली कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन आवश्यक रहेको उनको भनाइ थियो ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष सनम कुमार पौडेलको अध्यक्षता तथा लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी, नेकपा एमाले लमही नगर कमिटी अध्यक्ष रतन कुमार केसी, नेकपा तर्फबाट दिललकुमार श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष जंगबहादुर चौधरी, सँघसँस्थाको तर्फबाट हरिकहादुर थापा, पत्रकारबाट दशरथ घिमिरे, टोल विकास संस्थाबाट तारा बहादुर खनाल, उपभोक्ताबाट पताम्बर गैरे लगातले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सँस्थाकि उपाध्यक्ष शिवाकुमारी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव बसन्त आचार्यले गरेका हुन ।





