“स्वस्थ नगर, स्वस्थ नगरबासी” अभियान अन्तर्गत लमही बजारमा बृहत् सरसफाइ
घरसञ्चार
देउखुरी । “स्वस्थ नगर, स्वस्थ नगरबासी” भन्ने मूल नाराका साथ लमही नगरपालिकाले लमही बजार क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाको आयोजना तथा विभिन्न सुरक्षा निकाय, संघ–संस्था र स्थानीयको सक्रिय सहभागितामा सम्पन्न सरसफाइ अभियानले बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने सन्देश पनि दिएको छ । शनिबार बिहानदेखि सुरु भएको सरसफाइ अभियान चारवटा समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । नगरप्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी र वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी ‘सागर’को नेतृत्वमा टोलीहरू परिचालन गरिएका थिए ।

नगरप्रमुख जोगराज चौधरीको नेतृत्वमा आदर्श माध्यमिक विद्यालयदेखि देउपुर रोड, गोरक्ष टोल हुँदै सार्वजनिक बगैचासम्मको क्षेत्र सरसफाइ गरिएको थियो । यसैगरी उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा लमही बसपार्कदेखि बैँकरोड, हाईवे सडक हुँदै सार्वजनिक बगैचासम्म सरसफाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको नेतृत्वमा ट्रमा सेन्टरदेखि हाईवे सडक हुँदै बगैचासम्म सरसफाइ गरिएको थियो भने वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी ‘सागर’को नेतृत्वमा वडा कार्यालयदेखि लमही-कोईलाबास हुलाकी सडक र पिसिओ रोड हुँदै सार्वजनिक बगैचासम्म सरसफाइ गरिएको हो ।
अभियानमा नेपाली सेना ज्वाला दल गण अर्जुनखोला, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ गण अर्जुनखोला, वडा प्रहरी कार्यालय लमही, अस्थायी ट्राफिक पोष्ट लमही, नगर प्रहरी, लमही नगरबिकाश समिती, अजम्मरी सामुदायिक वन, देउखुरी उद्योग वाणिज्य संघ, लमही चेम्बर अफ कमर्स, नगरपालिकाका कर्मचारी, टोल विकास संस्था, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सडक छेउछाउ, नाली, फुटपाथ, सार्वजनिक स्थानमा थुप्रिएको फोहोर संकलन गर्दै वातावरण स्वच्छ राख्न सामूहिक श्रमदान गरेका हुन ।

सरसफाइ पश्चात सार्वजनिक बगैचामा सम्पन्न कार्यक्रममा नगरप्रमुख जोगराज चौधरीले स्वच्छ वातावरण नगर विकासको आधार भएको उल्लेख गर्दै सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । “नगरपालिका मात्रको प्रयासले शहर सफा रहँदैन, यसका लागि प्रत्येक नगरबासीको सचेतना र सक्रिय सहभागिता आवश्यक छ उनले भने-आजको अभियानले लमहीलाई सफा, सुन्दर र स्वास्थ्यकर नगर बनाउने अभियानलाई थप ऊर्जा दिएको छ ।”
उपप्रमुख लक्ष्मी योगीले स्वच्छता मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउँदै सरसफाइलाई अभियानका रूपमा मात्र नभई दैनिक जीवनशैलीको हिस्सा बनाउन आग्रह गरिन । फोहोर व्यवस्थापन, प्लास्टिक प्रयोगको न्यूनिकरण र सार्वजनिक स्थानको संरक्षणमा सबैले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उनको जोड थियो । उपप्रमुख योगीले महिला, युवा र स्थानीय समुदायको सक्रियताले मात्र दिगो स्वच्छता सम्भव हुने उल्लेख गरिन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाले स्वच्छता प्रवर्द्धनका लागि नीतिगत तथा संरचनागत तयारी गरिरहेको जानकारी दिए । “आजको सरसफाइ अभियानले नगर र नगरबासीबीच सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ उनले भने-यसलाई निरन्तरता दिन नगरपालिकाले फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनेछ ।” उनले सबै संघ-संस्था र सुरक्षा निकायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी ‘सागर’ले वडास्तरमै सरसफाइलाई प्राथमिकतामा राखेर नियमित अभियान सञ्चालन गरिनुपर्ने बताए । उनले स्थानीयले आफ्नो टोल, सडक र सार्वजनिक स्थल सफा राखे मात्र नगर समग्रमा सुन्दर बन्ने उल्लेख गरे । बृहत् सरसफाइ अभियानले लमही बजार क्षेत्र सफा बनाउनुको साथै स्वच्छता र सामूहिक उत्तरदायित्वको सन्देश पनि दिएको अजम्मरी सामुदायिक बनका अध्यक्ष पवन शर्मा रिजालले बताए । लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण कुमार बुढाथोकीले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा र एकता बढाउँदै समग्र नगरबिकाशमा टेवा पुग्ने बताए । नगरपालिकाले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिँदै लमहीलाई सफा, सुरक्षित र सुन्दर नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





