“अब त वर्षा, हुरीको डर छैन, आफ्नै पक्कि घर छ”

टेकबहादुर पुन

देउखुरी । गढवा गाउँपालिका अन्तरगतका अति विपन्न तथा एकल महिला परिवारलाई सुरक्षित र भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण र भूमिकामा महिलाको स्वामित्व सचेतना पैरवी परियोजना अन्तरगत तीन जना एकल महिलालाई दुई कोठे, शौचालयसहितको सुरक्षित आवास हस्तान्तरण गरिएको हो ।

घर पाउने लाभग्राहीमा गढवा-४ कट्यान गाउँकी प्रमिला चौधरी, गढवा-५ कक्रहवाकी जिवि बिक र गढवा-२ की कैलाशपति चौधरी रहेका छन् । टिनले छाएको, रंगरोगन गरिएको तथा भूकम्प प्रतिरोधात्मक प्रविधिमा निर्माण गरिएको यी घरले उनीहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास थपेको छ । घर हस्तान्तरण समारोहमा सबैभन्दा भावुक देखिएकी थिइन् प्रमिला चौधरी । श्रीमान् गम्भीस चौधरीको आठ वर्षअघि निधन भएपछि उनी एक्लै दुई छोरीको पालनपोषण गर्दै आइरहेकी थिइन् । “घर भन्नु नाम मात्रै थियो,” प्रमिलाले भनिन्, “वर्षातमा छाना चुहिन्थ्यो, जाडोमा ओढ्ने नहुँदा छोरीसँगै रात काट्नुपर्थ्यो । आज आफ्नै सुरक्षित घर पाउँदा मनले विश्वास नै गर्न सकेको छैन ।” प्रमिलाकी जेठी छोरी रोसिना चौधरीको विवाह भइसकेको छ भने कान्छी छोरी एलिना चौधरी हाल कक्षा ९ मा अध्ययनरत छिन् ।

“मजदुरी गरेर छोरी पढाउन निकै गाह्रो छ,” उनी भन्छिन्, “तर अब घरको चिन्ता हटेको छ । छोरी पढ्न बस्ने सुरक्षित ठाउँ पाएकी छु ।” गढवा-५ कक्रहवाकी जिवि बिकको कथा पनि कम पीडादायी छैन । कमजोर आर्थिक अवस्था, अस्थायी घर र दुई साना बालबालिकाको जिम्मेवारीले उनको जीवन निकै संघर्षपूर्ण थियो । “पहिले त हावाहुरी आयो भने रातभर सुत्नै सकिँदैनथ्यो,” जिविले सुनाइन्, “घर भत्किन्छ कि भन्ने डरले बच्चालाई काखमै राखेर बस्नुपर्थ्यो ।” उनकी १५ वर्षीया छोरी एलिसा बिक कक्षा ६ मा र १० वर्षीय छोरा आयुष बिक कक्षा ४ मा अध्ययनरत छन् । “अब बच्चाहरू निश्चिन्त भएर पढ्न पाउने भए,” जिविले भनिन्, “यो घरले मेरो मात्र होइन, बच्चाहरूको भविष्य पनि सुरक्षित गरिदिएको छ ।” घर सपनामा थियो तर बिपनामा साकार भयो उनले भावुक हुँदै भनिन् ।

गढवा–२ की कैलाशपति चौधरीले पनि सुरक्षित आवास पाउँदा आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताइन् । “जिन्दगीभर अरूको घरमा काम गरेँ,” उनले भनिन्, “आज आफ्नै नाममा घर हुँदा आत्मसम्मान बढेको छ ।” उनिहरु तिनैजना एकल महिलाहरुले घरले हामीलाई केवल छाना होइन, आत्मसम्मान, सुरक्षा र भविष्यप्रतिको भरोसा दिएको बताए । उक्त तीन घर निर्माणका लागि प्रत्यक घरका लागी ग्रामिण महिला उत्थान केन्द्र दाङबाट ४ लाख २५ हजार रुपैयाँ र गढवा गाउँपालिकाबाट २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । सुरक्षित आवाससँगै शौचालय निर्माण गरिएकाले स्वास्थ्य र सरसफाइमा पनि सुधार आउने अपेक्षा गरिएको छ । कार्यक्रमको अध्यक्षता गर्दै ग्रामिण महिला उत्थान केन्द्र दाङकी अध्यक्ष आस्मानी चौधरीले सुरक्षित आवास महिलाको सशक्तीकरणको आधार भएको बताइन् ।

“घर नहुँदा महिला सधैं असुरक्षित हुन्छिन्,” उनले भनिन्, “सुरक्षित आवास पाएपछि उनी आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्छिन् ।” कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोखरेलले अति विपन्न र एकल महिलाको संरक्षण स्थानीय सरकारको दायित्व भएको उल्लेख गरे । “घर नहुनु गरिबी मात्र होइन, सामाजिक अपमान पनि हो,” उनले भने, “यस्ता कार्यक्रमलाई पालिकाले प्राथमिकताका साथ अघि बढाउनेछ ।” आगामीदिनमा पनि गरिबिका रेखामुनी रहेका संघर्षशिल परिवारका लागि पालिकाले अध्ययन गरिरहेको बताए । ग्रामिण महिला उत्थान केन्द्रले गत वर्ष पनि गढवा गाउँपालिकाका चार अति विपन्न महिला परिवारलाई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

गढवा-५ लालपुरकी श्यामकुमारी चौधरी, गढवा-५ बाँकीकी दिशु चौधरी, गढवा-६ आँटिपाकरकी मायादेवी चौधरी र गढवा-३ बैराकी सरिता चौधरीलाई प्रति घर ५ लाख रुपैयाँ लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । त्यसबेला केन्द्रबाट ३ लाख र गाउँपालिकाबाट २ लाख रुपैयाँ सहयोग गरिएको थियो । कार्यक्रममा भिटा परियोजनाका कार्यक्रम संयोजक वसन्त कुमार शर्मा, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाह, वडा नं. ४ का वडाध्यक्ष हरिभगत चौधरी, वडा नं. ५ का वडाध्यक्ष लेखराज थापा लगायतले महिलामैत्री र सुरक्षित आवास कार्यक्रमले सामाजिक न्याय र समावेशी विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

कार्यक्रमको सहजिकरण परियोजनाकी कार्यक्रम संयोजक पार्बती थापाले गरेकी थिइन् । गढवामा गरिएको यो पहलले अति विपन्न तथा एकल महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ भने अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *