देउखुरीमा प्रहरीद्वारा अबैध वस्तु तथा विष्फोटक पदार्थ बरामद

घरसञ्चार

दाङ, असोज २७ । दाङ जिल्लाका विभिन्न स्थानमा प्रहरीले पछिल्लो केही दिनमा अबैध रूपमा लुकाइ–छिपाइ ल्याइएका सामान र विष्फोटक पदार्थ (पटका) बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार असोज २५ देखि २७ गतेसम्म प्रहरीले गरेको छड्केमा लाखौं मूल्य बराबरका सामग्री फेला परेका हुन् । पहिलो घटनामा, असोज २५ गते अस्थाई प्रहरी पोष्ट कालाकांटेबाट प्रहरी सहायक निरिक्षक राजु गिरीको कमाण्डमा खटिएको चार जनाको टोलीले गढवा गाउँपालिका–१ कालाकाटेचोक नजिकै बाटोको छेउमा दुईवटा कालो प्लास्टिकमा राखिएका ३२ पिस महिलाका कुर्ता–सुरुवाल फेला पारेको थियो । उक्त सामानको अन्दाजी मूल्य रु. ४८,००० बराबरको रहेको र कुनै बिल वा हकदाबी गर्ने व्यक्ति नआएपछि सामग्रीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोईलाबास पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, असोज २६ गते बिहान १० बजे इलाका प्रहरी कार्यालय अमिलियाबाट प्रहरी निरिक्षक भवानीप्रसाद धमलाको नेतृत्वमा खटिएको सात जनाको टोलीले लमही नगरपालिका–९ अमिलिया चेकपोस्टमा नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१ ज.३१३२ नम्बरको फोर्स गाडीमा अबैध रूपमा लुकाइ–छिपाइ ल्याइएका साना र ठूला गरी जम्मा २,०१७ पिस पटका बरामद गरेको जनाएको छ । धमलाकै नेतृत्वमा नेपालगन्जबाट तुलसीपुर आउँदै गरेको लु.प्र.०१–००१ प.६४८२ नम्बरको मोटरसाइकलमा विभिन्न प्रकारका १२ स्टार पटका, रकेट पटका, झ्यारझ्यारे पटका र खुर्सानी पटका गरी जम्मा ५६१ पिस पटका फेला पारी नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

त्यसैगरी, असोज २७ गते प्रहरी चौकी चंगुवा राजपुरबाट प्रहरी सहायक निरिक्षक डिल्लीप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले राजपुर गाउँपालिका–४ दुलैया चोकमा गढवा–चंगुवा सडकखण्डमा जाँच गर्दा रा.५ प.६९३६ नम्बरको मोटरसाइकलबाट रिमा नामक पटका २७ के.जि. बराबरको विष्फोटक पदार्थ बरामद गरेको हो । अन्दाजी रु. ६०,००० मूल्य बराबरको उक्त पटका सहित दाङ राजपुर–७ फोहोरा निवासी ४० वर्षीय दिनेश गुप्ता र भारत बलरामपुर निवासी २८ वर्षीय लक्ष्मण भारलाई नियन्त्रणमा लिई विस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालत दाङबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार सबै घटनामा संलग्न व्यक्ति तथा बरामद वस्तुहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङले तिहार पर्व नजिकिँदै गर्दा अबैध रूपमा पटका, विष्फोटक पदार्थ र बिना बिलका वस्तुहरूको व्यापार नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई अझ कडा पारिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *