शिक्षक आफैले गर्छन् नियम उल्लंघन: सिक्टा विद्यालयका निमित्त प्रअको अग्रिम हाजिरी

शिव राज खनाल
दाङ २६ साउन । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित माध्यमिक विद्यालय सिक्टाका निमित्त प्रधानाध्यापक विष्णु खत्रीले साउन महिनामै आउँदो भदौ २ गतेसम्मको हाजिरी अग्रिम भरेको खुलासा भएको छ ।
विद्यालयको आधिकारिक हाजिरी रजिष्टरमा साउन महिनाभरका साथै भदौको प्रारम्भिक दुई दिनको उपस्थिती विवरण पहिले नै भरीएको प्रमाणसहित फेला परेको हो । स्थानीय अभिभावक, शिक्षक र शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूले यस घटनालाई गम्भीर लापरबाहीको संज्ञा दिएका छन् । “शिक्षकले नै नियम उल्लंघन गरेर हाजिरी अग्रिम गर्दैगर्दा विद्यालयकै शैक्षिक अनुशासन ध्वस्त हुन्छ,” नाम नखुलाउने सर्तमा राजपुरका एक अभिभावकले भने । उनका अनुसार, कतै यस्तो कार्यले विद्यार्थीहरूमा ‘उपस्थिती प्रणाली’ को मूल्य र महत्त्वबारे गलत सन्देश पुर्याउने त हैन ? भन्नेमा उनको प्रश्न थियो ।

यता राजपुर गाउँपालिकाको शिक्षा शाखा प्रमुख केशव सम्सालका अनुसार आफुले त्यस बारेमा फोनकल र सामाजिक संजाल मार्फत जानकारी पाएको तर अहिले आफू ब्यक्तिगत कामले केहिदिन कार्यालय बाहिर रहेको र कार्यालय पुगि सत्य तथ्य पत्ता लगाउने बताए । यदि दोषी पाइएमा प्रचलित कानुन बमोजिम कसुरको मात्रा हेरी विभागीय सजाय सम्म हुन सक्ने उनको भनाइ छ । उता, विद्यालयका निमित्त प्रधानाध्यापक विष्णु खत्रीले हाजिरीको कुरा सामान्य रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेख्दै साउनभरी गर्नुपर्नेमा मिस्टेकले भदौमा हुन गएको र मेटाउनलाई टिपेक्स नभेटिएको बताउँदै अनाबस्यक टिकाटिप्पनि गर्न नहुने जिकिर गरेका छन् ।