गढवामा व्यापार मेला शुरु हुँदै, मुनाफाबाट ब्यबसायीक सुरक्षा कोष सञ्चालन गर्ने लक्ष्य

घरसञ्चार
दाङ । गढवामा यही असार ३ गतेदेखी व्यापार मेला सुरु हुने भएको छ ।
गढवा उद्योग वाणिज्य संघको आयोजनामा स्थानिय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यबसाय समृद्धिको मेरुदण्ड भन्ने मूल नाराका साथ असार ३ देखी १२ गते सम्म प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ सञ्चालन हुन थालेको हो । शनिवार संघले आफ्नो सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सबका कार्यक्रमहरु सार्वजनिक गरेको हो । गढवाको खेल मैदानमा संचालनमा आउन लागेको सन्ध्याकालिन मेलाको स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति लिई सकेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओंम प्रकाश बसेलले बताए ।

हामी पहिलो पटक गढवामा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला लगाउँदै छौं, जसका लागि संस्थाको मूल नेतृत्व रहनेगरि संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, स्थानीय कृयाशिल राजनितिक दल, स्थानीय बिद्यालय र स्थानीय गैर सरकारी संस्था सदस्य रहनेगरि मूल समारोह समिति र उपसमितिहरु पनि बनाईसकेका छौं प्रायोजकहरु खोज्ने देखि आन्तरीक तयारीहरु गर्दैछौ उनले भने ।
१० दिन सम्म संचालन हुने मेलामा गढवा तथा राजपुरमा उत्पादित कृषि जन्य सामाग्रीहरुको प्रर्दशनी तथा विक्रि कक्ष, पशु प्रर्दशनी तथा विक्रि कक्ष, माटोको भाडा प्रर्दशनी तथा विक्रि कक्ष, गढवा र राजपुर क्षेत्रका पर्यटकीय स्थलको जानकारी कक्ष, गड्यौला मल प्रदर्शनी तथा विक्रि कक्ष, सिप मुलक तालीम प्राप्त गरि सकेपश्चात यस क्षेत्रमा खोलीएका विभिन्न उद्योग बाट उत्पादित सामाग्री प्रर्दशनी तथा विक्रि कक्ष समेत राखीने छ ।

मेलामा झण्डै एकसय बढी स्टलहरु रहने गरि काम बढेको छ । मेलामा ८० हजार बढी दर्शकहरुले अवलोकन गर्ने आंकलन गरिएको संघले जानकारी दिएको छ । मेला स्थलमा दर्शकहरुको स्वास्थ्य लाई मध्यनजर गरी प्राथमिक हेल्थ डेस्क संचालन गरिने र एम्बुलेन्स समेत परिचालन गरिने बताइएको छ । मेलाको अवसरमा गढवा क्षेत्रको पर्यटन प्रवर्धनका लागी गढवा भित्र रहेका पर्यटकीय क्षेत्र श–शुल्क प्याकेजमा घुमाउने ब्यबस्था गरिएको छ । राष्ट्रिय स्तरका कलाकारहरु लाई कोईलाबास नाका तथा रामजानकी मन्दिर घुमाउने यस क्षेत्रका पर्यटकीय स्थलको बारेमा जानकारी गराउने गरी कामहरु अघि बढाएको संघले जनाएको छ ।
मेलामा सुरक्षाकर्मी तथा जेष्ठ नागरिकलाई निशुल्क प्रबेशमा छुटसँगै स्थानीय उद्योगी ब्यबसायीहरुलाई स्टलमा ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुका लागी निशुल्क स्टलको व्यवस्था गरिएको छ । मेला भब्य र शव्य रुपमा संचालन गर्नका लागी ईलाका प्रहरी कार्यालय, नगर प्रहरी गढवा, युवा स्वयंसेवक र सेक्युरेटीको ब्यबस्था गरिएको, सचिवालय बाट मेला स्थलको निगरानी गर्न मेला क्षेत्र भित्र सिसि क्यामेराको ब्यबस्था समेत गरिएको संघले जनाएको छ । मेला संचालन बाट भएको मुनाफा बाट उद्योगी ब्यबसायीहरुको लागी ब्यबसायीक सुरक्षा कोष पूर्ण रुपमा संचालनमा ल्याउने, बजार क्षेत्रमा अत्याधुनिक सिसि क्यामेरा जडान, सडक बत्ती जडान, गढवा र राजपुरका बजार क्षेत्रमा फोहर मैला व्यवथापन अन्तर्गत डस्टबिनहरु वितरण, यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागी होर्डिङ्ग बोर्डहरु राख्ने मेलाको उद्देश्य रहेको पत्रकार भेटघाटमा जनाइएको छ ।